गृहपृष्ठ अर्थतन्त्रमा मुलुक आत्मनिर्भर हुन १० वर्ष लाग्छ : उद्योग परिसंघ

अर्थतन्त्रमा मुलुक आत्मनिर्भर हुन १० वर्ष लाग्छ : उद्योग परिसंघ

नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा मुलुक आत्मनिर्भर हुन १० वर्ष समय लाग्ने बताएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको भेटघाटमा परिसंघ अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सिर्जना गरे १० वर्षमै मुलुक अर्थतन्त्रमा आत्मनिर्भर हुने बताए । उनले भने, ‘द्वन्द्व, संक्रमणकाल, भूकम्प, नाकाबन्दी र कोरोनाजस्ता जटिल समय हामीले भोग्यौं । यी संकटले हामीलाई थप क्षमतावान् भएर अघि बढ्न सिकाएको छ । अब सरकारले उपयुक्त लगानी वातावरण सिर्जना गरेर अघि बढ्ने हो भने मुलुक बन्छ ।’

देशको आर्थिक सम्बृद्धिका लागि स्वदेशी पुँजीसँगै विदेशी लगानीको परिचालन अपरिहार्य भएको भन्दै अध्यक्ष मोरले प्रक्रियागत झन्झटहरुमा सरकारले सहजीकरण गर्नुपर्ने बताए । उनले भने, ‘श्रम, शक्ति देशको महत्वपूर्ण पुँजी स्वदेशमा सिर्जना हुने लगानीमैत्री वातावरणले बनाउन सरकारले जोड दिनुपर्छ ।’

अन्तक्रियामा बोल्दै परिसंघका उपाध्यक्ष राजेश अग्रवालले सरकारले निजी क्षेत्रलाई हेर्ने परम्परागत धारणा बदल्नुपर्ने बताए । नेपाली उद्योगी व्यवसायीहरु स्वदेशमा मात्रै नभई संसारभर प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा पुगेको भन्दै अग्रवालले निजी क्षेत्रको क्षमतामा विश्वास गर्न सरकारलाई आग्रह गरे । ‘पछिल्लो १० वर्षमा हामीले आफूलाई निकै तिखारेका छौं, हाम्रो क्षमता र फैलावटलाई अनुकुल हुनेगरी सरकारले समयनुकुल ऐन र नियम परिमार्जन गरेर निजी क्षेत्रलाई सघाओस्,’ उनले भने । नीतिगत सुधार र लगानीमैत्री वातावरणका लागि सरकारसँग निरन्तर पहल गर्ने पनि परिसंघले जनाएको छ ।

नेपालमा लगानीको वातावरण कस्तो छ भनेर जाँच्ने कडीको रुपमा परिसंघमा आबद्ध रहेका उद्योगी व्यवसायीहरुले योगदान गरेको नाफिजका अध्यक्ष मोदनाथ ढकालले बताए । उनले भने, ‘आयातमुलक तथा व्यापारोन्मुख नेपाली अर्थतन्त्रमा उत्पादनमुलक उद्योग सफलतापूर्वक अघि बढाउनु चुनौतीपूर्ण छ । त्यसैमा पनि उद्योग तथा कलकारखानामा लगानी गर्नमा व्यवसायीहरु उत्साहित देखिनुभएको छ । यो सुःखद पक्ष हो ।’

प्रकाशित समय ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु