गृहपृष्ठ सरकार ‘विप्लव समूह’विरूद्ध कडा रूपमा प्रस्तुत हुने
सरकार ‘विप्लव समूह’विरूद्ध कडा रूपमा प्रस्तुत हुने
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहविरूद्ध कडा रूपमा प्रस्तुत हुने बताएका छन् । शनिबार सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत पुगेका गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।
आफूहरूले विभिन्न समूहलाई राज्यको मूलधारमा आउन र लोकतान्त्रिक विधिबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेको स्मरण गर्दै गृहमन्त्री थापाले वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कडा रूपमा प्रस्तुत हुने उल्लेख गरे ।
‘राज्यको मूलधारमा आउन र लोकतान्त्रिक विधिबाट समास्याको समाधान खोज्न वार्तामा आउन अनुरोध गरिरहेका छौं,’ उनले भने, ‘वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिनेछ ।’
गृहमन्त्री थापाले मुलुकमा शान्ति, अमनचयन कायम गराउने राज्यको पहिलो कर्तव्य भएको उल्लेख गर्दै विप्लव समूहले हिंसात्मक गतिविधि गरे पनि राज्यले नियन्त्रणमा लिने बताए ।
‘हामी हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गर्न सक्छौं,’ गृहमन्त्री थापाले भने, ‘बाहिर हल्ला गरिए जस्तो विप्लव समूह चुनौतीका रुपमा आएको छैन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई पार्टीको नाम नेकपाबाट परिवर्तन गरी लुटेरा समूह राख्न सुझाव दिएको भोलीपल्ट गृहमन्त्री थापाले दिएको अभिव्यक्तीलाई महत्वका साथ हेरिएको छ ।
प्रकाशित समय १४:४२ बजे
















