गृहपृष्ठ भीम रावलको प्रश्न- कसैले नेपाल समाप्त पार्टी गठन ग-यो भने सरकारले सहमति गर्ने ?

भीम रावलको प्रश्न- कसैले नेपाल समाप्त पार्टी गठन ग-यो भने सरकारले सहमति गर्ने ?

‘आगामी बैठकमा गृहमन्त्रीको राजीनामाबारे छलफल हुन्छ’

bhim_rawal

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले शुक्रबार डा. सिके राउतसँग सरकारले गरेको सहमतिप्रति आपत्ती जनाएका छन् । उनले राउतसँग सरकारले गरेको सहमति कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।

शुक्रबार सरकारले पृथकतावादी अभियानको नेतृत्व गरिरहेका राउतसँग शुक्रबार ११ बुँदै सहमित गरी उनलाई ‘खुला राजनीतिमा ल्याएको’ बताएको थियो । शुक्रबार निकै महत्व र तामझामका साथ भएको उक्त सहमतिमा प्रयोग भएका भाषाप्रति परस्पर विरोधी धारणाहरू आइरहेका छन् ।

सरकार पक्षले उक्त सहमतिले पृथकतावादी अभियान चलाइरहेकाहरू खुला राजनीतिमा आएको भन्दै ‘महत्वपूर्ण उपलब्धी’का रूपमा चित्रण गरिरहेको छ । सँगै अर्को पक्षले भने सहमतिमा प्रयोग भएको भाषालाई लिएर चर्को असन्तुष्टि जनाउँदै आएका छन् । अर्कातर्फ सहमतिमा नेकपाभित्रै असन्तुष्टि रहेको प्रष्टै देखिएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रावलले सहमतिप्रति चर्को असन्तुष्टी जनाउँदै भने सहमति कुनै पनि हालतमा मान्य हुँदैन । उनले स्वतन्त्र मधेश संगठन भनेकैप्रति असन्तोष व्यक्त गरे । कतिपयले स्वतन्त्र मधेश संगठन भनेको नाम हो भनिरहेको भन्दै उनले कसैले नेपाल समाप्त पार्टी नाम राख्यो भने के हुन्छ ? भन्ने प्रश्न उठाउँदै यो व्याख्या नै गलत भएको उल्लेख गरे । ‘स्वतन्त्र मधेस भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ,’ रावलले भने, ‘भोली कसैले नेपाल समाप्त पार्टि गठन गर्यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो ।’

राउतसँग सहमति गरेको भोलीपल्ट नेकपाका अध्यक्षद्वय रौतहटको सभालाई सम्बोधन गरिरहँदा यता नेता रावल भने सहमतिप्रति असन्तुष्टि व्यक्त गरिरहेका थिए । यस्ता सहमतिले मुलुकलाई समृद्धिको बाटोमा नलैजाने रावलको भनाई थियो । ‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन्,’ उनले भने, ‘तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन् ।’

शुक्रबारको सम्बोधनका क्रममा राउतले ‘विगतमा गरेका गल्ती’लाई नस्वीकारेको पनि उल्लेख गरे । ‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थैं,’ रावलले भने, ‘तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन् ।’

संविधान बनाउँदा समेत स्वीकार नगरिएका कुराहरूमा सहमति भएको उनको भनाई थियो । ‘सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधान बनाउँदासमेत मानेका थिएनौं,’ रावलले भने, ‘अहिले फेरि यो कुराले प्रवेश किन पायो ?’

नेकपाका स्थायी समिति सदस्य रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राउतलाई ‘दार्शनिक’ भनेकामा पनि आपत्ति जनाए । ‘राउतलाई दार्शनिक भनियो,’ उनले भने, ‘अब के हामी उहाँकै दर्शनमा चल्नुपर्ने हो ?’

नेता रावलले सहमतिमा सरकारको तर्फबाट हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामाबारे आगामी बैठकमा छलफल गर्ने जानकरी दिए । अब बस्ने पार्टीको बैठकमा यस विषयमा छलफल हुने उनको भनाई थियो ।

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु