गृहपृष्ठ मन्त्रीमण्डल पुनर्गठनकाे तयारी, को–को छन् रेड जोनमा ?

मन्त्रीमण्डल पुनर्गठनकाे तयारी, को–को छन् रेड जोनमा ?

सरकार गठन भएको एक वर्ष पूरा हुँदा पनि जनअपेक्षा अनुसार काम हुन नसकेपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि मन्त्रीमण्डल हेरफेर गर्ने तयारी भएको बालुवाटार स्रोतको दाबी छ । गतिशील नभएका मन्त्रालय, जनगुनासो बढी आएका, तथा सरकारको आलोचना बढाएका मन्त्रीलाई हटाएर मन्त्रीमण्डल हेरफेर गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । यद्यपी, सार्वजनिक कार्यक्रममा भने प्रधानमन्त्री ओलीले तत्काल मन्त्रीमण्डल हेरफेर नहुने बताउँदै आएका छन् ।

बालुवाटार स्रोतले भन्यो, ‘पछिल्लो समय मन्त्रीहरुका कार्यबाट जनतामा निराशा बढ्दै गएको परिवेशलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले मन्त्रीहरुको कार्यक्षमता मूल्यांकन गर्नुभएको छ, केही महिनाअघि चेतावनी समेत दिइएको अवस्थामा अहिलेसम्म कार्यप्रगतिमा सुधार नगर्ने मन्त्रीलाई हटाउने तयारी छ । ’

प्रधानमन्त्री भइसकेपछि ओलीले पटकपटक बालुवाटारमा मन्त्रीहरूको कार्यसम्पादन र क्षमताको मुल्यांकन विधि र प्रक्रियाबारे आफू निकट र सल्लाहकारहरूसँग छलफल गरेका थिए । मन्त्रीहरूले प्रस्तुत गरेको कार्ययोजनालाई र प्रतिबद्धता कति पूरा भयो वा भएन राम्रोसँग अध्ययन गरिसकेका उनले अब भने बैसाख महिना यतानै केही मन्त्रीलाई बिदा गर्ने तयारी गरेको बताइएको छ ।

को–को छन् रेड जोनमा ?
मन्त्रीहरुले गरेको कामको अवस्थालाई हेरेर यसरी मन्त्रीहरुको वर्गीकरण गरिएको छ । यो सूचीमा करिब ६ जना मन्त्री परेको स्रोतले जनाएको छ । भौतिक पूर्वाधर तथा यातायात मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री मातृकाप्रसाद यादव, कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालसहितका मन्त्रीहरु रेड जोनमा छन् । यस्तै निगरानीको सूचीमा समेत केही मन्त्री छन् ।

प्रधानमन्त्री ओलीले उनीहरुलाई कार्यप्रगति सुधारको लागी अन्तिम चेतावनी दिने तयारी गरेका छन् । ती मन्त्रीहरूमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, वनमन्त्री शक्ति बस्नेत, महिला वालबालिका मन्त्री थममाया थापा मगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, खानेपानी मन्त्री विना मगर र सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा छन् । श्रममन्त्री विष्टले केही उल्लेखनिय काम गरेपनि मलेसियामा रोजगारी खुल्ला गर्ने विषयमा पहलकदमी गर्न नसकेकाले अन्तिम चेतावनी दिन लागिएको बताइएको छ ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको काम समेत चित्त नबुझाएका ओलीलले उनीहरुलाई पनि चेतावनी दिने तयारी गरेका छन् । उनीहरु नेकपासँग सरकारमा गठबन्धन गर्दै संघीय समाजबादी फोरम नेपालबाट मन्त्री भएका हुन् ।

उनीहरु मिल्दा सरकारसँग दुई तिहाई समर्थन पुगेको छ । यस्तै ग्रिन जोन अर्थात सन्तोषजनकको सूचीमा केही मन्त्री परेका छन् । रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन र अर्थमन्त्री युवराज खतिवडा यो सूचीमा छन् ।

प्रकाशित समय १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु