गृहपृष्ठ गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजिनामा

गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजिनामा

विप्लव माओवादीलाई बन्द फिर्ता लिन विशेष आग्रह

काठमाडौं– गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले केपी ओली सरकारको राजिनामा मागेको छ ।
निर्वाचनमा समाजवादको नारा दिएको नेकपाले सरकारमा पुगेपछि त्यसले दलाल तथा नोकरशाही पुँजीवाद मात्र अभ्यास गरेको माओवादी केन्द्रको आरोप छ । सरकारले संविधानको धज्जी उडाउदै इण्डो प्यासिफिक कमाण्डमा संलग्नताले नेपाललाई युद्धग्रस्त अफगानिस्तान बनाउने हर्कत गरेको, सिके राउत सहमतिमा मधेश बिखण्डनलाई बैधानिकता दिएको, सुबिधा लम्पट चरित्र प्रदर्शन गरेको, बेथिति बढाएर प्रतिक्रियावादी राजतन्त्र फर्काउने उद्योग गरिरहेको एवं विप्लव नेकपालाई असंबैधानिक प्रतिबन्ध लगाएर देशलाई हिंसात्मक युद्धमा धकेलेको उसको आरोप छ ।
‘ओली सरकारले तुरुन्त राजिनामा गरी विप्लव नेकपासँग वार्ता र राष्ट्रिय एवं जनहितको मार्ग प्रशस्त गर्न विशेष आग्रह गर्छ,’ माओवादी केन्द्रले विज्ञप्तिमा भनेको छ, ‘अन्यथा देशद्रोही र फासिवादी निरंकुश खड्ग ओली सरकारलाई विस्थापित गर्न सडक आन्दोलनको निर्णायक तयारीका लागि अग्रगामी राजनीतिक शक्ति र इतिहासको निर्माता जनसमुदायमा जोडदार अपिल गर्दछ ।’
¬विप्लव नेकपामाथि खड्ग ओली–प्रचण्ड सरकारले प्रारम्भदेखि नै दमनको नीति लिएको आरोप लगाउँदै माओवादी केन्द्रले वार्ताका लागि प्राथमिकतासहित सरकारले ठोस पहल नगरेको तथा ‘लुटेरा समुह’ करार गरी निकृष्ट शब्दमा अपमानित गर्दै प्रतिबन्ध लगाएको बिरोधमा आफ्नो पार्टीले डटेर भत्सर्ना गर्ने बताएको छ । ‘देश र जनताका लागि भनेर वलिदानीपूर्ण भावनाले संघर्षरत विप्लव नेकपाका कमरेडहरुप्रति हाम्रो उच्च सम्मान छ’ विज्ञप्तिमा भनिएको छ, ‘तर विगत जनयुद्धकालीन परिस्थितिमा काफी फेरबदल आएको, पूर्वाधार विकास र सूचना प्रविधिमा व्यापकताले अभिजातवर्गीय सत्तालाई नै सुदृढ गरिरहेको नेपाली अर्थ–राजनीतिमा दीर्घकालीन छापामार युद्ध कम्युनिष्ट योद्धाहरु र जनताका लागि वस्तुतः आत्मधाती ठहर्छ ।’
विप्लब नेकपाको एकीकृत जनक्रान्तिको कार्यदिशा के हो भन्ने जनसाधारणमा बोधगम्य नभएको आरोप लगाउँदै माओवादी केन्द्रले जनयुद्धको उपलब्धी विद्यमान गणतन्त्रलाई रक्षा गर्दै समाजवादी गणतन्त्रमा कसरी विकास गर्ने एवं ऐतिहासिक र सामुदायिक पहिचान मुद्धाबारे पनि गंभीरता व्यक्त भएको पाईदैन भनेको छ ।
आफ्नो कार्यदिशा र कार्यक्रमबारे जनता माझ ब्यापक बहस गराई क्रन्तिकारी एकता र ध्रुबीकरण सुदृढ गर्न विप्लव नेकपालाई जारी संघर्षको नीतिमा गंभीर पुनर्विचार गर्न आग्रह गर्दै माओवादी केन्द्रले लगातारको बन्दले जनता आजित रहेको स्थितिमा चैत–१६ गतेको नेपाल बन्द फिर्ता गरी अन्य कार्यक्रमद्वारा राजनीतिक संघर्ष अघि बढाउन विशेष आग्रह गरेको छ ।

प्रकाशित समय १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु