गृहपृष्ठ ओलीको विकल्प खोज्नुपर्ने बेला भयो : गजुरेल
ओलीको विकल्प खोज्नुपर्ने बेला भयो : गजुरेल
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले अझै चार वर्षसम्म ओली सरकार रहे देश विकराल स्थितिमा पुग्ने बताएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको पहिलो राष्ट्रिय सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा देजमोका अध्यक्षसमेत रहेका नेता गजुरेलले यस्तो बताएका हुन् ।
’सरकारले आफूलाई कम्युनिस्ट सरकार भन्छ तर कम्युनिस्टले गर्ने सामान्य काम पनि गर्न सकेको छैन,’ उनले भने, ‘अझै ओलीजी भन्दै हुनुहुन्छ यो सुरुवात मात्र हो । अब भन्नुस् बाँकी चार वर्षमा देश कहाँ पुग्ला ?’ उनले देशमा अपराध बढ्दै गएको भन्दै सरकार अपराध नियन्त्रण गर्न असफल भएको दाबी गरे । उनले अब सरकार र राज्य व्यवस्थाको विकल्प खोज्ने बेला आएको बताए । ओलीको एक वर्षको कार्यकालले संघीय गणतन्त्र नेपालका लागि उपयुक्त नभएको कुरा प्रष्ट भइसकेको उनले बताए ।
सरकारले जति सुकै राष्ट्रघात गरे पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्न नसकेको उनले बताए । ’सरकार असफल भएको छ । यो सरकार हट्नुपर्छ,’ उनले भने, ’यो नेपाली कांग्रेसलाई पनि थाहा छ । तर उसले केही गर्न सक्दैन। भिजेको बिरालो जस्तो भएको छ कांग्रेस ।’
चैत २४ गते देजमोको पहिलो राष्ट्रिय सम्मेलन
देजमो नेपालले चैत २४ गते देजमोले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन काठमाडौको प्रदर्शनी मार्गमा गर्ने भएको छ । सम्मेलनको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ’किरण’ले गर्ने छन् । सम्मेलनको तयारीका लागि देजमोले यही फागुन ७ देखि २१ गते सम्म मेचीमहाकाली जन जागरण अभियान चलाएको थियो ।
प्रकाशित समय १६:४२ बजे
















