गृहपृष्ठ मन्त्री भट्टराईले आफूलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि…
मन्त्री भट्टराईले आफूलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि…
फाइल तस्बिर
बुधबार बिहान करिब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रे ।
सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आआफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे । उनीहरु गफिँदै अघि बढ्दै गर्दा स्वागत गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत पुगे । बहालवालामन्त्री भएकाले बस्नेतले आफ्नो हातको खादा मन्त्री भट्टराईतर्फ जब लग्दा मन्त्री भट्टराईले रोक्दै सिटौलातर्फ देखाउँदै भने, ‘पहिला दाइलाई ।’ उनको भनाइसँगै बस्नेतलेसँगै रहेका सिटौलालाई त्यही खादा पहिले ओढाए अनि मन्त्री भट्टराईलाई अर्को खादा ओडढाए ।
यो सबै हेरिरहेका नेता कार्यकर्ता स्तब्ध देखिए । दुई खादा र फूल बोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै सम्मानको भावसँगै मन्त्री भट्टराई बाहिरिए ।
चितवन क्षेत्र नं-२ का संघीय सांसद एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोख्रेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गरे । उनले भने, ‘मन्त्रीले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ ।’ पोख्रेलले थपे, ‘लोकतन्त्र र गणतन्त्र हामी पार्टी मिलेर ल्याएका हौं, अब हामी समृद्धिका लागि पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।’ युवाहरुले यो खालको संस्कार देखाउनुपर्ने पोख्रेलले बताए ।
नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले विपक्षी दलका नेतालाई मन्त्री भट्टराईले दिएको सम्मानले मुख्य दल मिल्नुपर्छ भन्ने सन्देश प्रवाह भएको विचार राखे ।
उनीरुको स्वागतमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेल, कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाललगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
मन्त्री भट्टराई भरतपुर विमानस्थल विस्तारसम्बन्धी छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजनसम्बन्धी कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । केही दिनअघि मन्त्री भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट गरी जानकारी गराएका थिए । (रासस)
प्रकाशित समय १४:०७ बजे
















