गृहपृष्ठ लालबाबु पण्डित : मन्त्री पद खोसिँदा पनि उस्तै व्यस्त
लालबाबु पण्डित : मन्त्री पद खोसिँदा पनि उस्तै व्यस्त
पदमा बहाल रहँदा जिल्लाका कार्यक्रम र आयोजनाको प्रगतिमा विशेष चासो दिइरहने निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको दिनचर्या अहिले थोरै मात्र फरक लाग्छ- पहिला उनी मन्त्रीको हैसियतमा जिल्ला गइरहन्थे, अहिले सांसदका हिसाबले । आफ्नो गृह जिल्ला, त्यसमा पनि निर्वाचन क्षेत्रको कार्यक्रम र विकास निर्माणका आयोजनामा उनको उपस्थिति र चासो अहिले पनि उस्तै छ ।
मन्त्री पद एकाएक खोसिँदा पनि उनले पार्टीप्रति सार्वजनिक रुपमा कुनै नकारात्मक टिप्पणी गरेनन् न त हतास नै देखिए । सामान्य दैनिकीमा तत्कालै ‘एड्जस्ट’ भएका पूर्वमन्त्री पण्डितको बारेमा बरु प्रमुख प्रतिपक्षी दल कांग्रेसका कार्यकर्ता र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता र सर्वसाधारण जनाले सहानुभूति देखाए । प्रधानमन्त्रीबाट गलत निर्णय भएको भनेर सामाजिक सञ्जालमा आपत्ति जनाउने धेरै थिए ।
पूर्वमन्त्री पण्डित जनताका काममा उस्तै व्यस्त छन् । उनको लोकप्रियता झन् चुलिएको छ । दुई दिनमा उनले गृह जिल्लाअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका आधा दर्जनभन्दा बढी कार्यक्रम भ्याएका छन् ।
उनले निर्वाचन क्षेत्रमा पुगेर जनतासँग विकास निर्माण र पिरमर्काका विषयमा छलफल गरेका छन् । पण्डितले सुनसरीको इनरुवास्थित कुम्हार सामुदायिक भवनको शिलान्यास गरे । उनी मन्त्री छँदा तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत तराईको अल्पसंख्यक कुम्हार जातिको संस्कृति संरक्षणका लागि सामुदायिक भवनको योजना छनोट भएको थियो ।
त्यस्तै पण्डितले आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं. ६ अन्तर्गत बुढीगंगा गाउँपालिका–७ मा सर्व हितैषी आधारभूत विद्यालय भवनको शिलान्यास गरे । निर्माणाधीन गछिया–लोचनी कालोपत्रे सडकको अनुगमन एवं निरीक्षण गरी समयमै काम सक्न ठेकेदारलाई निर्देशन दिए । विराटनगरस्थित कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरे ।
नेकपाका प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीका अनुसार पूर्वमन्त्री पण्डितले बुढीगंगा गाउँपालिका–७ स्थित रामजानकी मन्दिर सेवा समितिद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाए । उनी विराटनगर विमानस्थलको विकास र विस्तारका लागि तयार पारिएको गुरुयोजनासम्बन्धी अन्तक्र्रियामा सहभागी भए । प्रदेशको स्थायी राजधानी विराटनगर र विमानस्थलको स्तरोन्नतिलाई मुख्य चुनावी एजेन्डा बनाएका पण्डितले विमानस्थलको काम तीव्र गतिमा अघि बढाउन आग्रह गरे ।
उनले बुढीगंगा गाउँपालिका–१ पुष्पलाल चोकमा पञ्चेश्वर सामुदायिक भवनको शिलान्यास पनि गर्न भ्याए । बुढीगंगा–६ तिलाठेमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा सहभागिता जनाए । सुनसरी र मोरङका थारु समुदायले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रममा उपस्थिति जनाए ।
मन्त्री पदमा रहँदा पण्डित सबैभन्दा बढी गृह जिल्ला र निर्वाचन क्षेत्र आउने गरेका थिए । पद खोसिएपछि अझ सक्रियता बढाएको प्रदेश कमिटी सदस्य चौधरीले बताए । आइतबार बेलुका गृह जिल्ला आएका पण्डित बुधबार बिहान काठमाडौं फर्किएका छन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको ‘किल्ला’ मानिएको मोरङ निर्वाचन क्षेत्र ६ बाट पण्डितले कांग्रेसका प्रभावशाली नेता डा. शेखर काइरालालाई पराजित गरेका थिए ।
प्रकाशित समय ११:२६ बजे
















