गृहपृष्ठ नेकपा कर्णाली टोलस्तरको कमिटी निर्माणमा

नेकपा कर्णाली टोलस्तरको कमिटी निर्माणमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) कर्णाली प्रदेशले टोलस्तरको कमिटी निर्माण गर्ने निर्णय गरेको छ । गत फागुन ७ गते नेकपा कर्णाली प्रदेशमा आयोजना गरिएको प्रदेशस्तरीय तेस्रो बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा केन्द्रीय कमिटीको गत माघ १५ देखि १९ गतेसम्म आयोजना बैठकबाट पारित ‘पार्टी एकता शुद्धीकरण तथा जनसम्बन्ध बिस्तार अभियान’लाई जिल्लास्तरमा कार्यान्वयन गराउने उद्देश्यले उक्त निर्णय गरिएको नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले बताए । आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी बैठकबाट गरिएको निर्णयहरु सार्वजनिक गरिएको हो ।

बैठकले २०७६ फागुन महिनाभरी कर्णाली प्रदेशका सबै जिल्लामा जिल्ला कमिटस्का बैठकहरु सम्पन्न गर्ने, जिल्लामा विभिन्न कमिटीका बैठक, भेला, प्रशिक्षण तथा अन्तरक्रिया गर्ने, पार्टी सदस्यता तथा संगठित सदस्यको अभिलेख संकलनका लागि पार्टी केन्द्रबाट विशेष परिपत्र- ७ मार्फत निर्देशन गरिएको प्रक्रियालाई ध्यानमा राखी तहगत रुपमा प्रभावकारी समूह बनाई परिचालन गर्ने लगायतका निर्णय गरेको बोगटीले बताए ।

सरकारले गरेका काम कारबाहीहरु प्रभावकारी भए/नभएको जानकारी लिन तहगत रुपमा समूह निर्माण गर्ने, जनआन्दोलन, तथा जनयुद्धका सहिद, बेपत्ता पारिएका व्यक्ति, घाईते, अपांगहरुको तथ्यांक र निजहरुको समग्र अध्ययनका लागि समूह परिचालन गर्ने निर्णय गरिएको बोगटीले जानकारी दिए ।

उनका अनुसार नेकपा केन्द्रले तय गरेको आचारसंहितालाई प्रत्येक पार्टी कमिटी तथा कार्यकर्ताले अनिवार्य रुपमा पालना गर्ने र पार्टी, सरकार तथा नेतृत्वका बारेमा नकारात्मक असर पर्नेगरी सार्वजनिक रुपमा प्रस्तुत नहुन प्रदेशका पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन गर्ने निर्णयसमेत गरेको छ ।

प्रदेश कमिटीको तेस्रो बैठकले केही प्रस्तावसमेत पारित गरेको अध्यक्ष बोगटीले जानकारी दिए । पाटी एकता अधिकांश स्थानीय तहसम्म सम्पन्न भएको र केही स्थानीय तहमा बाँकी रहेकाले आवश्यक छलफल गरिएको र प्रदेश कमिटीको सचिवालयमा विभाग र फाँटहरुको गठनका आवश्यक राय परामर्श गरी प्रदेश कार्यालयले टुङ्ग्याउने निर्णय गरेको बोगटीले बताए ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष बोगटीले पार्टी र सरकार एकअर्काका परिपूरक भएको उल्लेख गरे । पार्टीको नेतृत्वमा सरकार चलेको भन्दै यसलाई यसैगरी अगाडि बढाउने प्रयास भएको बताए । आगामी दिनमा टोल स्तरमा पार्टीका कमिटी गठनका लागि आफूहरु लागेको उनले बताए । प्रदेश सरकारका कामकारबाहीलाई शीर्ष नेताहरुले नजिकबाट निर्देशन दिएको भन्दै बोगटीले जनवर्गीय संगठनमा समेत लागि परेको जानकारी दिए ।

प्रकाशित समय १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु