गृहपृष्ठ प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रेमपत्र- समाधान कोरौं, समाधि नखनौं

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रेमपत्र- समाधान कोरौं, समाधि नखनौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा प्रेमपत्र लेखेका छन् । पार्टीकाे सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका शर्माले बिहीबार ‘प्रेमपत्र’मार्फत समसामयिक विषयमा सरकारकाे ध्यानाकर्षण गराएका छन् । पत्रमा बुँदागत रूपले सरकारकाे पछिल्लाे कामकाे समीक्षा गरिनुका साथै सुझावसमेत दिइएकाे छ ।

शर्माको प्रेमपत्र :

सम्माननीय प्रधानमन्त्रीज्यु,

सर्वप्रथम यहाँको उच्च मनोवलको प्रशंसा गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाको जोखिमसँग जुध्न यतिबेला अन्य सबै राजनैतिक विमति थाती राखेर हामी यहाँको साथमा उभिएका छौं र ‘सरकारमा सँगै नरहेर पनि सँगै लड्न सकिन्छ’ भन्ने संस्कार साथ यो संकटको घडी सरकारलाई साथ दिन सबै दल, संस्था र समुदायलाई अपील गरिरहेका छौं ।

प्रतिपक्षले सरकारलाई साथ दिनु भनेको म प्रस्ट्याउन चाहन्छु । ढिलासुस्ती, लापरबाही,अनियमितता र भ्रष्टाचारलाई पनि समर्थन गर्नु चाहिँ होइन । बरु सबै कमजोरीबारे प्रश्न उठाएर, तिनको निदान खोज्न घच्घच्याएर फेरि पनि सघाउनु संकटमुक्ति प्रतिको इमानदारिता हो ।

हाम्रो आग्रह छ, यो प्रकरणमा चीनको सफलता एवं इटली र स्पेनको भयावह स्थितिबाट गहिरो शिक्षा लिउँ । हामी थप चुक्यौं भने भीषण स्थिति व्यहोर्नेछौं, सही ढंगले जुट्यौं भने नेपाल र नेपालीको रक्षा गर्न समर्थ हुनेछौं । थोकमा मृत्यु हेर्ने कि एक-एकलाई जोगाउने ? यो यक्ष प्रश्न इतिहासकै सबैभन्दा गम्भीर प्रश्न बन्न पुगेको छ ।

प्रधानमन्त्रीज्यु,

उपप्रधानमन्त्रीको नेतृत्वमा जारी अभियानले यथासक्य प्रयत्न निश्चय नै गरिरहेको छ । हामी त्यसलाई प्रोत्साहित गरिरहेकै छौं तर यस्तो संकटको घडी हरेक कदमको समीक्षा हरेक दिन गर्न एवं विज्ञ र आफू बाहिरको मत निरन्तर आत्मसात गर्न अत्यावश्यक हुन्छ । हाम्रो आग्रह छ लकडाउनको दोस्रो चरणको यो घडी हालसम्मको प्रगति र कमजोरीको वस्तुनिष्ठ समीक्षा गरौं, कमजोरी अन्त्य गरौं र अब पछिल्लो कदम निकै व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाऔं । यो संक्षिप्त पत्रमा पृष्ठभूमिदेखि समग्र विश्लेषणमा म जान चाहन्न । तत्कालीन परिस्थिति, प्रश्न र चुनौतीबारे आम नेपालीको भावना प्रतिनिधित्व गर्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट यहाँको ध्यानाकर्षण गराउन चाहन्छु ।

समीक्षा १, परीक्षण र उपचारमा गम्भीर लापरबाही

१, परीक्षण,परीक्षण र परीक्षणका लागि विश्व स्वास्थ संगठनले जोड दिएको छ । तर अझै पनि ७ प्रदेशको कम्तिमा ७ ठाउँमा परीक्षण गर्न सक्नेगरी क्षमता विस्तार गरिएको छैन । संक्रमण फैलनबाट रोक्न परीक्षणको व्यापक दायरा विस्तार गर्नैपर्ने विषयमा यतिका समयसम्म प्रगति नहुनुलाई गम्भीरतापुर्वक लिएर प्रदेश हुँदै सबै जिल्लामा विस्तार गर्न यहाँबाट तत्काल परिणाममुखी पहलको अपेक्षा छ ।

२, हालसम्म ६ नेपालीमा कोरोना संक्रमण देखिएको मध्ये एक स्वस्थ भएर फर्किए भने बाँकी उपचाररत छन् । तर उनीहरुको परिवारका सदस्यको परिक्षण गर्न सरकारको सम्बन्धित निकायले थाहा छैन कुन साइतको प्रतीक्षा गरेको छ । उनीहरुसँगै हवाई या सडक यात्रा या घुलमिल गरेका अन्य नागरिकको खोजबीन सुरु गरियो तर परिक्षणको दायरामा ल्याइएको छैन । समुदायमा कोरोना फैलन छुट दिएझैं स्थिति हो यो । यहाँको जानकारीमा यो बिषयको गम्भीरता पुगेको छ कि छैन ?

३, यस बीचमा उपत्यका र बाहिरका अस्पतालमा केही बिरामीमा कोरोना आशंका गरियो, मृत्युपश्चात् मात्रै परिक्षणको रिपोर्ट आयो । बुटवलको एक अस्पतालमा लास उठेन, विराटनगरमा चार अस्पताल दौडाउँदा दौडाउँदै एक महिलाको मृत्युु भयो । कोरोनाबाहेक अन्य रोगले पनि मृत्यु हुन्छ, तर सुरक्षित रुपले परीक्षण गर्न पीपीई नपाउँदा कयौं ठाउँमा कोरोनाको सन्त्रासले बिरामी हेर्न स्वास्थकर्मी हच्केका छन् । प्रधानमन्त्रीकै जिल्लामा चार वर्षे बालकको ज्वरो जचाँउन जाँदा एक अस्पतालको गेटबाटै अभिभावक फर्काइए । यस्तो स्थिति समाधान गर्न यहाँको ध्यान तत्काल जान जरुरी भएको छ ।

४, यस बीचमा विदेशबाट जति नेपाली आए, ती मध्ये थोरै मात्र क्वारेन्टाइनमा छन् । बाँकी कहाँ छन् सरकारसँग तथ्यांकसम्म छैन । क्वारेन्टाइन, परीक्षण र उपचारको व्यवस्थित कार्ययोजना कठोरतापुर्वक कार्यान्वयन गरेर समुदायलाई आश्वस्त राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदछु ।

समीक्षा २, लज्जास्पद अभाव र अनियमितताको प्रश्न !

५, कोरोना भाइरस प्राणघातक रहेको सूचना विश्वब्यापी भएको चार महिना पुगिसक्दा पनि पीपीइ, परिक्षण कीट, भेन्टिलेटरलगायत अत्यावश्यक सामग्रीको पर्याप्त जोहो नगरिनु सरकारको गैह्रजिम्मेवारी थियोे । यो प्रकरणको चार गल्ती क्रमशः स्मरण गराउन चाहन्छु ।

क) समयमै सामग्री आयातको योजना ,तयारी र प्रक्रिया नथाल्नु ।

ख) लकडाउनमा पुगेपछि आकस्मिक रुपले खरिद योजना बनाउँदा आवश्यक पारदर्शी प्रक्रिया अवलम्बन नगरिनु ।

ग) बजार मूल्यभन्दा अत्यधिक रकम निकासा गराएर राज्यकोषको दुरुपयोग गरिनु ।

घ) विश्व स्वास्थ संगठनको मापदण्ड बाहिरका कतिपय कमसल सामग्री खरिद गरिनु ।

सम्माननीय प्रधानमन्त्रीज्यु, हामी यतिबेला यहाँको नेतृत्वमा आजको संकटबाट पार पाउन हरसंभव साथ दिन तत्पर रहेका छौं । सरकार, प्रतिपक्ष र सबै दल संकटको यस्तो बेला एक ठाउँमा उभिनु भनेको राजनीतिप्रति नागरिकको असन्तोषलाई न्यून गर्ने अवसर पनि हो । तर नागरिक पंक्तिबाट जब ‘कात्रोमा पनि कमिसन ?’ भनेर प्रश्न आउँछ, तब हामी नाजवाफ बन्छौं । प्रधानमन्त्रीज्यु समक्ष दुई विकल्प रहेकोे म सुझाउन चाहन्छु । एक,ढाकछोप गर्ने र त्यसको छिटा ब्यहोर्ने, दुई सिंगो देशको आग्रह सुनेर निश्चित आरोपीहरुलाई पदमुक्त गर्दै अनुसन्धानलाई सघाउने ।

समीक्षा ३ ,राहत अपर्याप्त ,प्याकेजमा उदार बनौं !

६, सरकारले ल्याएको राहतको प्याकेजलाई सकारात्मक रूपमा लिंदै त्यो अपर्याप्त रहेकोे ध्यानाकर्षण हामीले गरिसकेका छौं । प्रधानमन्त्रीज्यु हरेक वर्ष असार मसान्तमा हामीले फ्रिज हुन लागेको बजेट कनिकाझैं छर्ने गरेका छौं, यसपालि त्यो नछरौं । अहिले नागरिक जोगाऔं, पछि पुल हालौंला, बाटो बनाऔंला । ज्यालादारी श्रमिककोमा राहत पुर्‍याउने तीब्रतामा ध्यान पुगोस् । रोजगार कार्यक्रमका नाममा अघिल्लो वर्ष पानी बगायौं हामीले, अहिले बेरोजगार एवं शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहतको योजनातर्फ त्यो कार्यक्रमलाई किन नमोड्ने ?

७, तेहेर्‍याउन चाहन्छौं ब्यवसायीहरुको बैंक ब्याज घटाएर राहत अनुभूति गराउन सरकार किन गम्भीर नभएको ? प्रधानमन्त्रीज्युको निर्देशन सम्बन्धित मन्त्रालयलाई जाओस् ।

२० लाखसम्म ऋण लिएका साना ब्यवसायीको हकमा ३ महिनासम्मको ब्याजसमेत मिनाह गरियोस् । आज यिनलाई जोगाए भोलिको अर्थतन्त्र यिनैले उठाउने छन् प्रधानमन्त्रीज्यु ।

८, छापा माध्यम क्रमशः बन्द हुँदैछन्, ब्यवसाय चौपट भएपछि रेडियो, टीभी र अनलाइन पनि बिज्ञापन न्यूनता हुँदै शुन्यताको मारमा पर्नेछन् । श्रमजीवी पत्रकारको चुल्हो क्रमश: लक्ड हुनसक्छ लकडाउन लम्बिए । राज्यको चौथो अंगलाई बचाउन लोकतान्त्रिक संविधान भएको मुलुकमा गम्भीर ध्यान पुग्नुपर्‍यो प्रधानमन्त्रीज्यु । अनि काठमाडाैं प्रेसमाथि प्रधानमन्त्रीकै निकटस्थको साइबर अपराधलाई अनुसन्धान र कार्वाहीको दायरामा सुम्पन जरूरी आग्रह म यसैमा गाँस्न चाहन्छु ।

समीक्षा ४ ; नेपाली डायस्पोराबारे सोचौं

९, नेपालबाहिर पनि अर्को नेपाल छ प्रधानमन्त्रीज्यु, चालिस लाखको संख्यामा फैलिएको । हिजो निरन्तर रेमिटेन्स पठाएर देशको अर्थतन्त्र जोगाउने त्यो डायस्पोरालाई आज देशै संकटमा छ भनेर भुल्न मिल्दैन ।

क) अरु देशले आफ्ना नागरिक लगे र लगिरहेका छन् नेपालबाट । परदेशबाट घर फर्कन हाम्रा जो चाहन्छन् तिनलाई देशले ल्याउन सक्दिन भन्नुहुन्न । सोचौं, परामर्श गरौं र धैर्यताका साथ आवश्यक निर्णयमा पुगौं ।

ख) सिमानामा आइपुगेर नारा लगाइरहेका अनुहार हेर्नोस् प्रधानमन्त्रीज्यु उनीहरु हिजो मत दिन आएका थिए, तपाईंलाई प्रधानमन्त्री बनाएर फर्किएका थिए ,दशैंमा आउन कतिले सकेनन्, कोरोना संकटमा आउँदा देश छिर्न सकेनन् । अलि अघिसम्म हजारौंलाई अव्यवस्थित ढंगले प्रवेश गराएका थियौं, आज सानो संख्यामा सिमानामा आइपुगेका नेपालीलाई ब्यवस्थित रुपले प्रवेश गराउने दायित्व देशको हो । संकटमा परदेशीलाई त सेवा पुर्याउनु पर्छ भने संकटमा आफ्नो देशमा शरण नपाउनुभन्दा ठूलो अन्याय के हुन सक्दछ । अत्यन्तै कारुणिक यो यथार्थप्रति प्रधानमन्त्रीज्युको गम्भीर ध्यानाकर्षण गराउँदछु ।

हामी फेरि पनि यो संकटमा यहाँको साथमा छौं, दृढ ढंगले परिस्थितिको नेतृत्व गर्न यहाँलाई प्रतिपक्षी दलको हरसम्भव साथ र सहयोग रहनेछ । जय नेपाल !

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु