गृहपृष्ठ ओली-नेपाल समूहको वार्ता निष्कर्षविहीन, भोलि नेकपा सचिवालय बैठक
ओली-नेपाल समूहको वार्ता निष्कर्षविहीन, भोलि नेकपा सचिवालय बैठक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्ति बाँडफाँटमा सहमतिका लागि बसेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको बैठक निष्कर्षविहीन भएको छ । साेमबार नेपाल निवास काेटेश्वरमा भएकाे छलफलबाट कुनै ठोस सहमति नजुटेको बताइएकाे छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो । कोटेश्वर बैठककै आधारमा भोलि नेकपा सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठक बसेर स्थायी समितिको मिति तोक्ने विषयमा कोटेश्वरमा सहमति भएको एक नेताले जानकारी दिए ।
पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको छ । सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएको लगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको हो ।
असन्तुष्ट नेताहरुले सरकारले पार्टीको समन्वयमा काम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् भने सरकारको नेतृत्वमा रहेका नेताहरुले पार्टीले सरकारलाई सघाउनुपर्नेमा जोड दिएका छन् । सोमबार नै अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच दाहाल निवास खुमलटारमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको छ ।
प्रकाशित समय २०:४३ बजे

















