गृहपृष्ठ भारतलाई सोध्नेछु‑ सत्यमेव जयते कि सिंहमेव जयते ?
भारतलाई सोध्नेछु‑ सत्यमेव जयते कि सिंहमेव जयते ?
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते ? भनेर प्रश्न गर्ने बताएका छन् । मंगलबार संसदमा सोमबारको मन्त्रिपरिषद बैठकबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा पारित भएको संसदलाई जानकारी गराउँदै उनले भने, ‘चारमुखे सिंहको मुनि भारतले सत्यमेव जयते लेखेको छ, म भारतलाई सोध्नेछु, सत्यमेव जयते त हामी सबैको हो, अब भन्नुस् सत्यमेव जयते कि सिंहमेव जयते हो ?’
सरकारले दृढ अठोटका साथ नयाँ नक्सा पारित गरेकाले कूटनीतिक पहलबाट नेपालको भूमि फिर्ता लिने उनले स्पष्ट पारे । ‘कसैले देखावटी राष्ट्रवाद भन्छ भने त्यो भनिरहोस्,’ उनले भन्यो, ‘तर सरकारले यो नक्सा पारित गर्दा सँगै अठोट पनि गरेको छ, लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि हो, यसलाई जसरी पनि फिर्ता लिनुपर्छ ।’
प्रधानमन्त्रीले नेपालको स्वाभिमान र राष्ट्रिय हितका पक्षमा सरकारले कुनै कसर बाँकी नराख्ने दृढतासहित नयाँ नक्सा पारित गरेको जानकारी गराए । नयाँ नक्सा सार्वजनिक गर्न केही समय लाग्न सक्छ तर सार्वजनिक हुने र भूमि पनि फिर्ता हुने उनको भनाइ छ ।
‘नेपालको भूमि अतिक्रमण गरेर अरुले नै विवाद सिर्जना गरेका हुन्, अरुले नै अर्घेल्याइँ गरेका हुन्,’ प्रधानमन्त्रीले भने, ‘अरुलै जबर्जस्ती गरेका हुन्, हामीले हाम्रो भूमि जसरी पनि फिर्ता लिनुपर्छ, लिन्छौँ । यसलाई देखावटी राष्ट्रवाद भनियोस् या अरु केही ।’
प्रकाशित समय १३:४० बजे

















