गृहपृष्ठ गोर्खा भर्ती खारेज गर्न माग

गोर्खा भर्ती खारेज गर्न माग

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गोर्खा भर्ती केन्द्र खारेजीको माग गरेका छ । पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै ‘पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवं लज्जास्पद विषय भएको’ बताउँदै नेपाली युवालाई चीनविरुद्ध लड्न नपठाउन आग्रह गरेका छन् ।

दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्काका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित नभएको विज्ञप्तिमा उल्लेख छ । ‘सीमा क्षेत्रमा गोर्खा रेजिमेन्ट खटाउने कुरा याे असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्ध पनि भएकाले उक्त कदम समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक छ,’ विप्लवले भनेका छन्, ‘देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई यथाशीघ्र खारेज गर्न र युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न र नेपाली युवाहरू कार्यरत गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गर्दछाैं । उनले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न अपिलसमेत गरेका छन् ।

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु