गृहपृष्ठ नारायणकाजी भन्छन्‑ बटमलाइन पार्टी एकताको रक्षा, मंसिरमा महाधिवेशन असम्भव

नारायणकाजी भन्छन्‑ बटमलाइन पार्टी एकताको रक्षा, मंसिरमा महाधिवेशन असम्भव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा नेकपाको बटमलाइन भएको बताएका छन् । पार्टीभित्र सल्किएको आगो निरुपण नभइरहँदा कतै नेकपा विभाजन हुने त होइन भन्ने आशंकाका बीच उनको यस्तो अभिव्यक्ति आएको हो ।

उनले सामाजिक सञ्जालमा छन्, ‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण हो । तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ ।’

नेकपामा अहिले एकता महाधिवेशनको चर्चा सुरु भएको छ । अफ्ठ्यारोमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘मंसिरमै महाधिवेशन गर्ने’ प्रस्तावमा नेताहरू सहमत छैनन् ।

प्रवक्ता श्रेष्ठले एकता महाधिवेशनको चर्चा हुनु राम्रो र खुसीको कुरा भएको बताएका छन् । ‘पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पूरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नैपर्छ तर महाधिवेशनलाई प्राविधिक विषयमात्र बनाउनु हुँदैन । वैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभारसमेत पूरा गर्ने गरी महाधिवेशनको तयारी गरौं,’ उनले भने, ‘यसो गर्दा आगामी मंसिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिन्न । त्यसैले हचपच र ढिलाइ दुवै गलत हुन्छन् । केन्द्रीय कमिटीको यससम्बन्धी निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढौं । महाधिवेशनलाई एकता र वैचारिक संश्लेषण एवं विकासको महाधिवेशन बनाऔं ।’

प्रकाशित समय १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु