गृहपृष्ठ नेकपाको स्थायी कमिटी बैठक : ओली उपस्थित भएनन्, पूर्वनिर्धारित एजेन्डा माथिको छलफल स्थगित
नेकपाको स्थायी कमिटी बैठक : ओली उपस्थित भएनन्, पूर्वनिर्धारित एजेन्डा माथिको छलफल स्थगित
आठौँ पटकको स्थगनपछि मंगलबार बसेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक समसामयिक विषयमा केही निर्णयहरु गर्दै स्थगित भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली भने सहभागी थिएनन् ।
बैठकमा प्राकृतिक प्रकोप र चेपाङ बस्तीमा आगो लगाइएको घटनाका विषयमाथि छलफल भएको थियो । नेकपाको स्थायी कमिटीको अर्काे बैठक साउन १३ गते बिहान ११ बजे बस्ने तय भएको छ । सो बैठकमा मात्र पूर्वनिर्धारित एजेन्डामाथि छलफल हुने बताइएको छ ।
मंगलबारको बैठकले बाढी, पहिरो तथा डुवानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनर्स्थापनको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यसका साथै चितवनको माडीस्थित चेपाङ बस्तीमा आगो लगाइएको घटनामा पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको स्थायी कमिटी सदस्य केशव बडालले बताएका छन् ।
बैठकअघि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।
प्रकाशित समय १४:५१ बजे

















