गृहपृष्ठ प्रधानमन्त्रीलाई भेटेर देउवाद्वारा विशेष ध्यानाकर्षण
प्रधानमन्त्रीलाई भेटेर देउवाद्वारा विशेष ध्यानाकर्षण
प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो लकडाउन खुलेपछि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलिसँग भेट गरेर कोरोना र बाढी पहिरोका सम्बन्धमा पार्टीको तर्फबाट विशेष ध्यानाकर्षण गराएका छन् ।
सो क्रममा देउवाले लकडाउनका बावजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको स्थितिमा लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि नेपाली कांग्रेसका तर्फबाट आग्रह र माग गरे । उनले परिक्षण पीसीआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टाइनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरे ।
विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन पनि सभापतिले सरकारसमक्ष माग राखे । बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारविहीन भएको हुँदा सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न कांग्रेस सभापति देउवाले आग्रह गरे ।
कोरोना सृजित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापुर्वक लिएर सम्बोधन गर्न पनि सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेपाली कांग्रेसका केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।
प्रकाशित समय १५:५१ बजे
















