गृहपृष्ठ विज्ञसँग प्रधानमन्त्रीको छलफलमा देउवाद्वारा ७ बुँदे सुझाव प्रस्तुत

विज्ञसँग प्रधानमन्त्रीको छलफलमा देउवाद्वारा ७ बुँदे सुझाव प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना संक्रमण रोकथामका लागि मंगलबार दिउँसो बोलाएकाे छलफल कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसमक्ष विभिन्न सुझाव र माग प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे जनस्वास्थ्य विज्ञ सहितको छलफलमा सभापति देउवाले पार्टीको तर्फबाट ७ बुँदे सुझाव र माग राखेका हुन् ।

देउवाद्वारा प्रस्तुत सुझावहरू :

(१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।

(२) नेपाली कांग्रेसले विगतदेखि नै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न विषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न विशेष ध्यानाकर्षण गराउँछु:-

– आरडीटी परlक्षण स्थायी रुपले अन्त्य ।

– सम्पूर्ण रुपले पीसीआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त ।

– स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।

– मापदण्डअनुरुप क्वारेन्टिनहरूकाे यथाशीघ्र व्यवस्थापन ।

– विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टिन र परिक्षणपश्चात् घर पुर्‍याउने व्यवस्था ।

– नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल ।

– सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आमसञ्चारका माध्यमको व्यापक प्रयोग ।

(३) परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरुसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

(४) विभिन्न दल, संघसंस्था र आमसञ्चार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

(५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र, भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

(६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

(७) वर्ग, क्षेत्र र परिस्थिति हेरेर राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन व्यवस्थित ढंगले गरियोस् ।

प्रकाशित समय १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु