गृहपृष्ठ कार्यकर्ता तानातानमा नेकपा र कांग्रेसबीच होडबाजी

कार्यकर्ता तानातानमा नेकपा र कांग्रेसबीच होडबाजी

संकटका बेला जनस्वास्थ्यको सुरक्षामा अगुवाइ गर्नुपर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ता सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गर्न अग्रसर

फाइल तस्बिर

नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम ग-यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो ।

भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत् कार्यक्रम ग-यो । खार्मीमा आयोजित कार्यक्रममा कांग्रेसका ८६ कार्यकर्तालाई नेकपाले पार्टी प्रवेश गरायो ।

नेकपा र कांग्रेसले बतासे र खार्मीमा आयोजना गरेको कार्यक्रमका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । स्थानीय तहको निर्वाचनमा बतासेमा तत्कालीन नेकपा एमाले र खार्मीमा कांग्रेसका उम्मेदवारले जितेका थिए । बतासे र खार्मीको उदाहरण हेर्दा स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोरेको बदला आगामी निर्वाचनमा जसरी पनि लिने गरी दुवै पार्टी कम्मर कसेर लागेको देखिन्छ ।

बतासे र खार्मीमा भएको होडबाजी उदाहरण मात्र हो । कोरोनाभाइरस महामारीका बीच पनि नेकपा र कांग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा चुनावी शैलीमा पार्टीगत कार्यक्रम बिनासावधानी गरिरहेका छन् । एकातर्फ कोरोना भाइरसको संक्रमण बढिरहेको छ, अर्कातर्फ राजनीतिक दलबीचमै जानाजान भीड जम्मा गरेर कार्यकर्ता तानातान गर्ने होडबाजी चलेको छ ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनयता जिल्लामा किराँत समुदायको साकेला, हिन्दू धर्मावलम्बीको देवाली, नेवार समुदायको लाखेलगायतका चाडपर्वलाई कम उपस्थितिमा मनाउन लगाइएको थियो । संकटका बेला जनस्वास्थ्यको सुरक्षामा अगुवाइ गर्नुपर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ता भने सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गर्न अग्रसर देखिएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा आफ्नो तथा नागरिकको स्वास्थ्यमा नेता नै असंवेदनशील देखिएका छन् । नेकपा र कांग्रेस मात्र नभई जनता समाजवादी पार्टीमा पनि ठूलो उपस्थितिमा पार्टीको कार्यक्रम गर्ने, विपक्षी दलका नेता तथा कार्यकर्ता तान्ने र प्रचार गर्ने होडबाजी चलेको देखिन्छ । राजनीतिक दलका कार्यक्रममा न भौतिक दूरी कायम गरेको देखिन्छ, न त मास्ककै प्रयोग भएको पाइन्छ । राजनीतिक दलकै नेता तथा कार्यकर्ताले बिनासावधानी सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गरेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताको चर्को आलोचना भइरहेको छ ।

सरकारले लागू गरेको लकडाउन खुलेपछि कोरोनाभाइरस संक्रमण बढ्ने खतरा बढेको देखिएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले साउन १४ गते सार्वजनिक सूचना जारी गर्दै सजगता अपनाउन आग्रह गरेको थियो । न्यूनतम भौतिक दूरी कायम गर्न, मास्क लगाएर हिँड्न, अनावश्यक भीडभाड नगर्न, सेवाप्रदायक निकाय वा संस्थालाई स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न/गराउन भनिए पनि बेवास्ता भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

पार्टीगत कार्यक्रममा मात्र नभई जिल्लामा हुने अधिकांश कार्यक्रममा हेलचेक्र्याइँ बढ्दो देखिएकाले सावधानी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । ‘कोरोनाभाइरस संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने बेलामा अधिकांश क्षेत्रमा हेलचेक्र्याइँ गरिएको पाइएको छ,’ उनले भने, ‘अहिलेसम्म कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न खोपसमेत बनेको छैन । हामीसँग एउटै मात्र विकल्प सावधानी भएकाले हरेक ठाउँमा सावधानी अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।’

जिल्लामा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न बेवास्ता गर्न थालिएको छ । न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न र अनिवार्य मास्क प्रयोग गर्न भनिए पनि त्यसको पालना हुनसकेको छैन । (रासस)

प्रकाशित समय ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु