गृहपृष्ठ डा. गोविन्द केसीको माग सुनुवाइ गर्न सरकारसँग कांग्रेसको माग

डा. गोविन्द केसीको माग सुनुवाइ गर्न सरकारसँग कांग्रेसको माग

चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगत देखिनै सत्याग्रहमा सरिक अभियन्ता डा गोविन्द के.सी.को जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

नेपाली कांग्रेसले शनिबार एक विज्ञप्ति निकाल्दै ०७५ साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहो¥याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि नेपाली कांग्रेस सरकार समक्ष माग गरेको उल्लेख गरेको छ ।

चिकित्सा शिक्षामा नेपाली कांग्रेस सदैब सकारात्मक रहेको भन्दै ०४६ को परिवर्तन पश्चात् नेपाली कांग्रेसको सरकारको नीति र कार्यक्रममै शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा क्षेत्रको विसंगति अन्त्य गरेर सुधारका लागि नेपाली कांग्रेसकै नेतृत्वको सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा उच्च स्तरीय कार्यदल निर्माण गरेर प्राप्त सुझाव बमोजिम सुधारका विविध कार्य अघि बढाइएका थिए । कांग्रेस नेतृत्वको पछिल्लो सरकारका पालामा आइपुग्दा डा. के.सी.का मागहरू पूरा गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४’ सो वर्षको कार्तिक २४ मा जारी गरिएको थियो । तर, वर्तमान सरकारले त्यसलाई विस्थापित गरेपश्चात् एकातर्फ चिकित्सा शिक्षामा सुधारको विषयले सार्थक गति लिन सकेन, अर्कातर्फ डा. के.सी.को सत्याग्रह फेरि पनि जारी रह्यो ।’

कर्णाली केन्द्रित रहेर पछिल्लो माग डा. केसीले अघि सारिरहँदा नेपाली कांग्रेस आफ्नो नेतृत्वको सरकारका पालामा कर्णालीको साविक अञ्चलमा भएका र गरिएका कार्यहरू स्मरण गर्दै करिब दुई दर्जन क्याम्पस, प्राय गाविसमा उपस्वास्थ्य चौकी, सुर्खेतबाट दैलेख र कालिकोट हुँदै जुम्ला भएर मुगु पुग्ने २३४ किमिको कर्णाली राजमार्ग ०४८ मा निर्माण शुरु गरेर ०६३ चैत्रमा संचालन, साना जलविद्युत परियोजनाहरु, कर्णाली करिडोर, आम सञ्चारका माध्यमहरु, दर्जनौं सहकारी र बैंकहरु कांग्रेसको नीति र नेतृत्वमा कर्णालीको भूगोलमा एक हदसम्म ०४६ को परिवर्तन पश्चात् विस्तारित भएको नेपाली कांग्रेसका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार मुलुकमा शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचन पश्चात् समृद्धिको यात्राका लागि तुलनात्मक रुपले सहज वातावरण निर्मित भएको छ । मुलुक संघीयतामा गएको छ र कर्णालीमा प्रदेश सरकार पनि अलग अस्तित्वमा छ । यस्तो बेलामा कर्णालीको विकास र समग्र समृद्धिका लागि घनिभुत ढंगले आवाज उठ्नु स्वभाविक र जरुरी छ । ‘प्रदेश सभामा प्रतिपक्षीका रूपमा नेपाली कांग्रेसले त्यो आवाजलाई निरन्तर प्रस्तुत गरि आएको छ भने डा. के.सी.को अनशनले यो विषयलाई बहसको केन्द्रमा स्थापित गर्न योगदान गर्दैछ ।’ विज्ञप्तिमा जनाएको छ ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्मको माग अघि सारेर अनशनरत डा. केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न नेपाली कांग्रेस संघीय सरकार र कर्णालीको प्रदेश सरकार दुवैलाई सार्वजनिक रुपले अपील र आग्रह गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु