गृहपृष्ठ प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ कात्तिक २७ गते

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ कात्तिक २७ गते

अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुनुवाइ हुने भएको छ । संघीय संसद संसदीय सुनुवाइ समितिको आजको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सरकारले असोज १५ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष नाम पठाएको थियो । समितिले प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्तालाई सार्वजनिक लिखित सूचना जारी गरी आमन्त्रण गरेकामा सोमबारको बैठकमा कुनै उजुरीकर्ता उपस्थित भएनन् । उजुरीकर्ताको नाम, नम्बर र वतन स्पष्ट नखुलेपछि समितिले १० दिने लिखित सूचना जारी उजुरीकर्ताहरूलाई बोलाएको छ ।

प्रस्तावित राजदूत डा. खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेको छ । समितिको असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग उजुरी आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो ।

प्रस्तावित राजदूतत्रयसँग योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि उपयुक्त हो या होइन ठहर्‍याई समितिले आवश्यक निर्णय लिनेछ । प्रस्तावित नाम अनुमोदन भएमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट उनीहरूलाई राजदूत नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित समय १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु