गृहपृष्ठ कोरोनाले नेपालको सुन बजारमा ४० अर्बको क्षति

कोरोनाले नेपालको सुन बजारमा ४० अर्बको क्षति

विश्वव्यापी कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गरिएको सात महिने लकडाउनका कारण नेपालको सुन बजारले ४० अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको छ । दैनिक ३० किलो सुन खपत हुने नेपाली बजारले चैत ११ गतेदेखिको लकडाउनका कारण ४० अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चैत ११ गतेदेखि साउन ६ गतेसम्मको निरन्तरको लकडाउनका कारण सुन बजार पूर्णतः ठप्प भयो । त्यसयताका दिनमा लकडाउन खुकुलो बनाउँद लगिए पनि काठमाडौँ उपत्यका लामो समय निषेधाज्ञाको सिकार बन्यो । दसैँअघिबाट बजार खुले पनि उच्च मूल्यवृद्धि र कोरोना त्रासका कारण मानिसहरू बजार ननिस्किएपछि सुन कारोबार ठप्प जस्तै रहेको महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य तेजरत्न शाक्य बताउछन् । ‘दसैँआसपास करिब १० प्रतिशतजति चहलपहल भयो, चैतयता सुन बजार ठप्प छ भन्दा फरक पर्दैन,’ उनले भने, ‘नेपालको सुन बजारले करिब ४० अर्बको नोक्सानी व्यहोरेको हाम्रो अनुमान छ ।’

महासंघको तथ्यांकअनुसार सामान्य अवस्थामा नेपालमा दैनिक औसत ३० किलो सुन खपत हुने गर्छ । प्रति १० ग्राम ८० हजारले हिसाब गर्ने हो भने दैनिक २४ करोड र मासिक ७ अर्ब २० करोडको सुनको कारोबार हुन्छ । चैतदेखि कात्तिकसम्मको सात महिनामा ५० अर्ब ४० करोड रुपैयाँबराबरको सुन बजार प्रभाव भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको चैतदेखि असार मसान्तसम्ममा विदेशबाट ८८ करोड ३७ लाख रुपैयाँको सुन आयात भएको छ । त्यस्तै चालू आवको असोजसम्ममा ७३ करोड ७० लाख रूपैयाँको सय किलो सुन भित्रिएको छ । सात महिनाको अवधिमा करिब डेढ अर्बको सुन विदेशबाट आयात भयो भने उच्च मूल्यवृद्धिका कारण मानिसहरूले सुन बिक्री गरे । एक महिनायता विगतको तुलनामा दैनिक ५ देखि १० प्रतिशत कारोबार भएको अनुमान महासंघका पूर्वअध्यक्ष शाक्यको छ ।

अहिले कामदार, कालिगढलाई तलब खुवाउनसमेत नसक्ने अवस्थामा व्यवसायी पुगिसकेका छन् । ‘सात महिनादेखि व्यवसाय करिब ठप्प हुँदा यहाँ रहेका नेपाली कामदारलाई मात्र पनि तलब खुवाउन समस्या भइसकेको छ,’ उनले भने, ‘कोरोनासँगैको मूल्यवृद्धिले नेपालको सुन व्यवसाय धराशयी भयो भन्दा फरक पर्दैन ।’

दु लाखको रोजगारी प्रभावित

देशभर कति सुनचाँदी व्यवसायी छन् र तिनमा कतिले रोजगारी पाएका छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । सुनचाँदी व्यवसायी महासंघको अनुमानित तथ्यांकअनुसार हाल देशभर करिब २० हजार सुनचाँदी व्यवसायी छन् । तीमध्ये करिब ७ हजार व्यवसायी महासंघमा आबद्ध छन् ।

त्यस्तै देशभरका सुनचाँदी व्यवसायमा दुई लाखभन्दा बढीले रोजगारी पाएको महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन् । ‘तीमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत नेपाली कामदार छन्,’ उनी भन्छन्, ‘लकडाउनका कारण स्वदेश फर्किएका ७५ प्रतिशत कालिगढ फर्किएका छैनन् ।’ दसैँअगाडि छिटपुट भारतीय कामदार आएको उनले बताए ।

यो पनि पढ्नुहोस्

मूल्यवृद्धि र कोरोनाले धस्कियो सुनचाँदी बजार

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु