गृहपृष्ठ नेकपा विवाद : ‘फकाउ र फुटाउ रणनीति’मा ओली
नेकपा विवाद : ‘फकाउ र फुटाउ रणनीति’मा ओली
पार्टीभित्र विवाद चर्किरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी समूहविरूद्ध नयाँ रणनीति अगाडि बढाएका छन् । पार्टीभित्र अल्पमतमा परेका ओली विपक्षी समूह फकाउने र फुटाउने प्रयासमा लागेका हुन् ।
पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्धमा तितक्ता आएपछि ओलीले पूर्वएमालेका नेतासँगको छलफललाई तीव्रता दिएका छन् । यसै क्रममा उनले आइतबार चार नेतासँग छलफल गरे । आज दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग ओलीले छलफल गरेका हुन् ।
प्रचण्डले शुक्रबार र शनिबार सचिवालयको अनौपचारिक बैठक गरेपछि नेपकपाभित्रको विवाद थप चर्किएको छ । पार्टी कार्यालय धुम्बाराहीमा दुई दिन बैठक बसेपछि प्रचण्डसहितका नेताहरूले ओलीलाई भेट गरेर सचिवालय बैठकको मागसहित शनिबार लिखित पत्र बुझाएका थिए । प्रचण्डसहित, नेता नेपाल, झलनाथ खनाल, वामदेव गाैतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ बालुवाटार पुगेका हुन् ।
भेटवार्ताका क्रममा ओलीले महाधिवेशनपछिको नेतृत्व नेता नेपालले लिनेगरी पूर्वएमाले मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको नेकपाका एक नेताले बताए । ओलीले पार्टी बैठक नबस्ने र बैठकले कुनै निर्णय गरेमा पार्टी विभाजन हुने चेतावती दिँदै आएका छन् । उनले आफू निकटसँग अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने वा अन्य कुनै कदम चाल्ने भन्ने विषयमा निरन्तर परामर्श गरिरहेको प्रचण्डपक्षीय नेताहरूकाे आरोप छ ।
कर्णाली सरकारविरूद्ध अविश्वास प्रस्ताव प्रकरण, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, राजदूत नियुक्ति र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग कुटनीतिक मर्यादाविपरीत गरेको भेटले नेकपामा विवाद बढेको हो ।
प्रकाशित समय १६:४४ बजे
















