गृहपृष्ठ कांग्रेसले भन्यो‑ नेकपा सरकारले जनादेशको अपमान गर्‍यो

कांग्रेसले भन्यो‑ नेकपा सरकारले जनादेशको अपमान गर्‍यो

फाइल तस्बिर

नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकारले जनादेशको अपमान गरेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो बसेको बैठकले सरकारले आज हठात प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी गरेको निर्णय, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र राष्ट्रपतिबाट स्वीकृत भएको घटनामा गम्भीर ध्यानाकृष्ट भएको बताएको हो ।

कांग्रेसले संसद विघटनको घटना नेपाल कम्युनिस्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण र निन्दनीय कार्य भएको जनाएको छ । सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम भएको कांग्रेसको निष्कर्ष छ ।

‘विगतको निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ को माहामारीले जनता सर्वाधिक पीडामा रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको सरकार जनताका जनजीविका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुँदै पद र शक्तिका लागि सत्ता संघर्षमा केन्द्रित रह्यो । पछिल्ला घटनाक्रमले कम्युनिस्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता सञ्चालन गर्न अक्षम र जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको प्रस्ट छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यताविपरीत कार्यहरुको शृंखलाको निरन्तरता हो ।’

प्रकाशित समय १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु