गृहपृष्ठ प्रदेश तथा जिल्लामा पनि चर्कियो नेकपा विवाद

प्रदेश तथा जिल्लामा पनि चर्कियो नेकपा विवाद

प्रचण्ड-माधव समूहले सडक संघर्षमा, ओली समूह गुटगत भेलामा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद फुटको संहारमा पुगेको छ । ओली समूह र माधव–प्रचण्ड समूहले एक अर्कालाई कारबाहीसमेत गरिसकेको छ । प्रधानमन्त्रीसमेत रहेको नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएका छन् भने अर्का अध्यक्ष प्रचण्डले अनुशासनको उल्लंघन गरेको भन्दै केपी ओलीलाई पार्टीको अध्यक्षमुक्त गरेका छन् । रिक्त अध्यक्ष पदमा माधवकुमार नेपाललाई चयन गरेका छन् ।

ओलीले भने केन्द्रीय कमिटी नै बनाइसकेका छन् । ११९९ सदस्य रहनेगरी नयाँ कमिटी नै चयन गरिसकेका छन् । केन्द्रमा निकै शक्ति संघर्ष भएपछि प्रदेशमा पनि त्यसको विवाद उत्कर्षमा पुगेको छ । प्रदेश तथा जिल्लाहरुमा प्रधानमन्त्रीको पुत्ला दहनदेखि टायर बाल्नेसम्मका आन्दोलन गरिरहेका छन्, अर्को समूहले गुटका भेलालाई तीव्रता दिएका छन् । एउटा समूहले आयोजना गरेको कार्यक्रम अर्को समूहले बिथोल्नेसम्मका क्रियाकलापहरु भइसकेका छन् ।

कैलालीमा पनि प्रचण्ड–माधव समूह र ओली समूहले फरक फरक कार्यक्रम गरिरहेका छन् । प्रचण्ड–माधव समूहले नेकपा सुदूरपश्चिम प्रदेश कमिटी र जिल्ला कमिटी कैलालीको कार्यालयमा ताला लगाएर कब्जा गरिसकेका छन् भने त्यसैमा ओली समूहले अर्को ताला लगाएका छन् । प्रचण्ड–माधव समूहले सडक संघर्षका कार्यक्रम गरिरहेका छन् भने ओली समूहले भेला गरिरहेको छ । प्रधानमन्त्री ओली पक्षधर नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य अफिलाल ओखेडा प्रधानमन्त्रीविरुद्ध घेराबन्दी भएपछि संसद बिघटनको बाटो रोज्नुपरेको बताउँछन् । आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउन जालझेल गरेपछि प्रधानमन्त्रीको यो कदम सही भएको उनको टिप्पणी छ । ‘अब संसद फेरि सुरु हुन्छ भनेर कल्पना पनि नगरौं । निर्वाचनमा गएर जनमत बटुल्ने बाहेकको विकल्प छैन ।’ अबको निर्णय जनताको हातमा भएको उनले बताए ।

यता प्रचण्ड–माधव समूहले भने ओलीको असंवैैधानिक कदम भएको भन्दै बिरोध गरिरहेका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको निर्णयलाई नसच्याए कडा रुपले सडक संघर्षमा उत्रिने प्रचण्ड–माधव समूहले चेतावनी दिएको छ । प्रचण्ड–माधव समूहका प्रदेश कमिटी सदस्य रमेश धामीले भने, ‘हामी प्रधानमन्त्रीको यो कदमको घोर निन्दा गर्छाैं । अब चुनावमा जाँदैनौं, सर्वोच्च अदालतमा जान्छौं ।’ सकेसम्म प्रधानमन्त्रीको गलत निर्णयलाई सच्याउँने नसके आफूहरु सडक संघर्षमा जाने उनले बताए । धामीका अनुसार प्रधानमन्त्रीले जस्तोसुकै संकटकाल लगाए पनि त्यसको सामना गरेर प्रचण्ड–माधव समूह भिड्ने छन् ।

नेकपाको यो विवादलाई लिएर नागरिक भने निराश देखिएका छन् । भागबण्डाकै लागि जनमतको अपमान गरेको भन्दै जनता चिन्तित बनेका हुन् । धनगढीका अम्मरराज जोशीले भने, ‘जनताको मतलाई अपमान हुने गरी कसैले पनि काम गर्नु हुँदैनथ्यो । यी नेताहरु नहुँदा पनि हामीले खाएकै थियौं, हुँदा पनि खाएकै छौं सबै आफ्नै लागि गर्ने त हुन् जनताका लागि होइन ।’

धनगढीकै नन्दलाल पनेरुका अनुसार देशमा एउटा निकै कठोर शासक चाहिएको छ, जब कि जनताको लोकप्रिय र भ्रष्टाचारीहरु खोरमा हालोस् । ‘ओलीको यही आशा गरेका थियौं,’ उनले भने, ‘ओली भने कुबाटोतिर गए ।’ जनताले अनिवार्य पाउनुपर्ने स्वास्थ्य, शिक्षामा पनि सरकारले चरम भ्रष्टाचार गरेको उनको गुनासो छ ।

प्रकाशित समय १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु