गृहपृष्ठ नेकपा कैलालीमा दुई अध्यक्ष
नेकपा कैलालीमा दुई अध्यक्ष
केन्द्रमा नेपाल कम्युनिस्ट पार्टीमा ओली र प्रचण्ड-माधव पक्षधरको लडाइ चलिरहँदा सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि दुई पक्षबीच विवाद चुलिँदै गएको छ । दैनिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धमा नाराबाजी भइरहेका छन् भने जिल्ला तथा नगरका पार्टी कार्यालयहरूमा ताला लगाउने हानथाप हुँदै आएको छ ।
प्रचण्ड-नेपाल समूहको भेलाले निलम्बनमा परेका सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्रीसमेत रहेका दीर्घ सोडारीको कारबाही फुकुवा ग¥यो । त्यसपछि जिल्ला तहमा विवाद चुलिदै आएको छ । प्रचण्ड-माधव समूहको भेलाले तत्कालीन नेकपा कैलाली अध्यक्षसमेत रहेका सोडारीलाई पुनः कैलालीको अध्यक्षको जिम्मेवारी दियो । नेकपाले उनलाई आचरण र पदीय मर्यादाविरुद्ध उजुरी परेको भन्दै २०७५ कार्तिकमा कारबाही गरेको थियो ।
कारबाहीपछि सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी र कैलाली अध्यक्षमा रतन थापालाई पार्टीले नियुक्त गरेको थियो । सोडारी प्रदेशसभा सदस्य भने कायमै थिए । उनी कैलाली क्षेत्र नम्बर ४ (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । ‘पार्टी केन्द्रीय कमिटीले निर्णय ग-यो,’ दुई वर्षपछि निलम्बन फुकुवा भएका सोडारीले भने, केन्द्रीय कमिटीले आगामी रणनीति बनाउँछ, त्यसकै आधारमा हामी अघि बढ्छौँ ।’ उनले पार्टीले जिल्लादेखि केन्द्रमा थप सशक्त भएर अगाडि बढ्ने बताए ।
‘केन्द्रमा पार्टी दुई समूहमा बाँडिएसँगै कैलालीका वडा/वडा तहमा पनि हामीले नेता कार्यकर्ता सक्रिय पारिसकेका छौं,’ सोडारीले भने, ‘अहिले प्रधानमन्त्रीले गरेको ‘कु’ विरुद्ध विरोध प्रदर्शनका कार्यक्रम भइरहेका छन् ।’ उनी बिहीबार धनगढी पुगेका छन् । उनको स्वागतमा धनगढी विमानस्थलमा नै ठूलो संख्यामा समर्थकहरू पुगेका थिए ।
‘पार्टीले मलाई अध्यक्षको जिम्मेवारी तोकेपछि हाम्रा गतिविधि सुरु गरेका छौं,’ केही प्रक्रिया पु-याएर औपचारिक बैठक पनि बोलाउँछौं,’ उनले भने । यस्तै ओली समूहको अध्यक्ष मानिएका रतन थापाले पार्टीको वैधानिक अध्यक्ष आफू नै भएको दाबी गर्दै आएका छन् । ‘म कुनै गुटले तोकेको अध्यक्ष होइन, म त नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तोकेको कैलाली जिल्ला अध्यक्ष हुँ । विधिको शासनअनुसार पार्टी चल्नैपर्छ । सोडारीलाई प्रदेश कमिटीले कारबाही गरेको हो, प्रदेश कमिटीले नै फुकुवा गर्नुपर्छ ।’
अध्यक्ष थापाले थपे, ‘पार्टी फुटिसकेको छैन, संस्थापक अध्यक्ष म नै हुँ । म हिजोको एमालेको अध्यक्ष पनि हैन, माओवादीको अध्यक्ष पनि होइन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष हुँ ।’ तत्कालीन एमालेको अध्यक्ष हुँदैमा नेकपाको अध्यक्ष हुन नसक्ने थापाको भनाइ छ । निलम्बनमा परेका सोडारीलाई प्रचण्ड-माधव पक्षले फुकुवाको घोषणा गरेपछि पार्टीमा अर्को खालको तरंग आइरहेको छ ।
प्रकाशित समय १०:१४ बजे
















