गृहपृष्ठ दुई वर्षपछि कांग्रेस ठूलो पार्टी बन्छ, अहिलेको चुनाव घोषणा भ्रममात्रै : प्रचण्ड
दुई वर्षपछि कांग्रेस ठूलो पार्टी बन्छ, अहिलेको चुनाव घोषणा भ्रममात्रै : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ दुई वर्षपछि हुने चुनावमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने बताएका छन् । कान्तिपुर टेलिभिजनबाट सोमबार बेलुका प्रसारित फायर साइडसँगको कुराकानीमा उनले भने, ‘अर्को दुई वर्षपछिको चुनावमा नेपाली कांग्रेस ठूलो पार्टी हुन्छ, म एकदम सीधा देख्छु तर अहिले पार्टी विभाजन भइसकेपछि पनि नेकपा नै ठूलो पार्टी रहन्छ ।’
नेकपा अध्यक्ष प्रचण्डले कांग्रेस र सभापति शेरबहादुर देउवा दुवैलाई अहिलेको चुनाव घोषणा भ्रममात्रै भएकाले त्यतातर्फ सोच्दै नसोच्न र त्यो भ्रममा नपर्न आग्रह गरे । ‘अहिले जे भए पनि म र माधव नेपालजीले नेतृत्व गरेको पार्टी नै संसदमा सबैभन्दा ठूलो हुन्छ,’ उनले भने, ‘पार्टी विभाजनपछि कांग्रेस ठूलो हुने देख्छु, त्यसकारण कांग्रेससँग कुनै न कुनै हिसाबले सहकार्य त हुन्छ नै, अहिले चुनाव हुन्छ भन्ने भ्रममा कांग्रेस पर्नै हुँदैन, यो चुनाव गर्नका लागि घोषणा गरिएकै होइन ।’
उनले पटक‑पटक संसद पुनःस्थापनाको विकल्पै नभएको बताए । ‘केपी ओलीले भन्दैमा देश विघटन हुन्छ ? त्यो सम्भावना छ र ?’ प्रचण्डले भने, ‘जसरी त्यस्तो सम्भावना छैन, त्यसरी नै प्रधानमन्त्रीबाट संसद विघटनको सम्भावना नै छैन, संविधानले त्यस्तो परिकल्पना नै गरेको छैन, दुई जनाले जे चाह्यो त्यही हुन्छ र !’
महाधिवेशनसम्म दुई जना अध्यक्ष भनेर विधानमै तय भएकाले फुटपछि पनि दुवै जना (प्रचण्ड र माधव नेपाल) अध्यक्ष राख्नुपरेको उनले प्रस्ट पारे । संसद विघटन गरेर केपी ओलीजीले कलंकको टीका लगाइसकेको प्रचण्डले बताए । ‘जनताको सर्वोच्च निकाय संसद भंग गरेर केपीजीले कलंकको टीका लगाइसक्नुभएको छ,’ उनले भने । केपी ओलीले सत्ताको दुरुपयोग गरेर जनताको विवेकमाथि बुट प्रहार गरेको भन्दै उनले आक्रोस व्यक्त गरे ।
नेपालको संविधान निर्माणदेखि शान्ति प्रक्रियासम्मका हरेक गतिविधिमा चासो राख्ने विश्वका लोकतन्त्रका हिमायती देशहरू अमेरिका, युरोपदेखि भारतसम्म अहिले नेपालमा लोकतन्त्रमाथि यति ठूलो प्रहार हुँदा, संविधानमाथि मिचिँदा पनि किन बोलिरहेका छैनन्, यसमा आफूलाई अचम्म लागेको प्रचण्डले बताए । ‘राजनीतिक दल, नागरिक समाजसहित सारा देश संविधान बचाउनतिर लागिरहेका बेला लोकतन्त्रका हिमायती देशहरू मौन बस्नुले मलाई अचम्मित बनाएको छ,’ उनले भने, ‘चीनले जुन चासो देखाएको छ, यो पनि नेपालको लोकतन्त्र र स्थिरताकै पक्षमा हो ।’
केपी ओली ब्ल्याकमेलिङ गर्न साह्रै सिपालु रहेको पनि उनले बताए । ‘राष्ट्रपतिलाई एकपटक तपाईंलाई महाअभियोग लगाउँदैछन् है भन्दिनुभएछ,’ प्रचण्डले भने, ‘महाअभियोग लगाइहाले भने त भन्ने बताउनुभएछ र जे आउँछ त्यसमा सही गर्ने बनाउनुभएछ । हामीले पछि माधवजी, म, झलनाथजी गएर, हामीले त्यस्तो कल्पना नै गरेका छैनौँ, चर्चा नै गरेका छैनौँ, भन्यौँ, त्यतिखेरको खड्को टर्यो ।’ केपी ओलीबाट राष्ट्रपतिविरुद्ध पटक‑पटक यस्ता खालका ब्ल्याकमेलिङ भएको र अहिले पनि त्यही भएको उनले स्पष्ट पारे ।
केपी ओलीले अघिल्लो दिन आफूलाई र भोलिपल्टै फरक‑फरक समयमा माधव नेपाल र बामदेव गौतमलाई प्रधानमन्त्री प्रस्ताव गरेको उनले खुलासा गरे । ‘केपी ओलीको तरिका यस्तो हो,’ प्रचण्डले भने ।
प्रकाशित समय ०७:१९ बजे
















