गृहपृष्ठ प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन, पदकै चिन्ता छ : पूर्वमन्त्री मगर
प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन, पदकै चिन्ता छ : पूर्वमन्त्री मगर
निवर्तमान खानेपानीमन्त्री बिना मगरले प्रधानमन्त्रीले पद लोलुपताकै कारण संसद विघटन गराएको बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेलौरी नगर कमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्दै निवर्तमान खानेपानीमन्त्री मगरले प्रधानमन्त्रीले जनताका लागि भन्दा पनि पदकै लागि संसद विघटन गराएको बताइन् ।
‘प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन । मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ । मात्र उहाँलाई पदको चिन्ता रहेछ,’ भेलालाई सम्बोधन गर्दै भनिन्, ‘जनतामाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गराउनुभयो । यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै लामो समय छैन ।’
‘मैले सुन्ने गरेको छु प्रधानमन्त्रीका नजिकका मान्छेहरुले संघीयता खारेज गर्नुपर्यो भनेर वकालत गरिरहेका छन् । जनताको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरुलाई प्रधानमन्त्रीका मान्छेहरुले कुल्चने दुस्साहस गर्दैछन्,’ नेकपाको केन्द्रिय सदस्य समेत रहनुभएको मगरले भनिन्, ‘यस्तालाई जनताले चाँडै पराजित गर्नेछन् ।’ प्रधानमन्त्रीले जनतालाई भ्रम छर्दै हिंडिरहेको उनले बताइन् । ‘देशको प्रधानमन्त्री नभई एउटा कमेडियन पात्र मात्र हो कि भन्ने भान दिलाईरहनुभएको छ । उहाँका गतिविधि जनताले हेरिरहेका छन् । अब धेरै दिन उहाँका भ्रम टिक्ने छैन,’ उनले भनिन् ।
प्रकाशित समय १७:२३ बजे
















