गृहपृष्ठ ‘गणतन्त्रका लागि आन्दोलन भइरहँदा ओली घाम तापिरहेका हुन्थे’
‘गणतन्त्रका लागि आन्दोलन भइरहँदा ओली घाम तापिरहेका हुन्थे’
धनगढीमा निकालिएको बयलगाढा र्याली ।
प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कार्य गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले देशैभर विरोध प्रदर्शन गरिरहेका छन् । शीर्ष नेतादेखि प्रदेश, जिल्ला र गाउँस्तरका कार्यकर्ता सडकमा उत्रिएका छन् ।
यसैबीच, आइतबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रचण्ड-नेपाल पक्षनिकट विद्यार्थी संगठनले बयलगाडा र्याली निकालेका छन् । प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी भएको भन्दै उनीहरुले बयलगाडा र्याली निकालेका हुन् ।
धनगढीको क्याम्पसचोकबाट सुरु भएको र्याली पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रधानमन्त्री ओलीले २०६२।६३ सालको जनआन्दोलनका बेला ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए । सोही विषय ओलीको व्यंग्य गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत राजनीतिक दल र संगठनहरुले बयलगाडा र्याली निकाल्ने गरेका छन् ।
आइतबारको र्यालीमा ओलीविरुद्ध नाराबाजी गर्दै विद्यार्थीहरुले आक्रोस पोखेका थिए । अनेरास्ववियु कैलालीका सहसंयोजक समिर जोशीले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध फरक-फरक किसिमले विरोधका कार्यक्रमलाई निरन्तरता दिएको बताए । अनेरास्ववियुका केन्द्रीय सदस्य डम्मर भट्टराईले ओली विगतबाटै गणतन्त्रविरोधी भएको दावी गरे । उनले भने, ‘ओली विगतबाटै गणतन्त्र विरोधी हुन् । प्रचण्डजस्ता अन्य नेताहरुकै कारण गणतन्त्र आएको हो ।’ असंवैधानिक कदम, संघीयता र गणतन्त्रविरोधी ओलीका यस्ता क्रियाकलापका विरुद्ध अनेरास्ववियु संघर्षरत रहने उनले बताए ।

विभिन्न गाउँबाट करिब ३० वटा बयलगाडासहित र्याली निकालेका विद्यार्थीहरुले ओलीको कदम असंवैधानिक भएको बताएका थिए । देश र जनताको पक्षमा भन्दा ओलीले आफ्नो पद बचाउन सो असंवैधानिक कदम चालेको अनेरास्ववियुका केन्द्रीय सदस्य भिष्म सुवेदीले बताए । ‘पार्टीको आन्तरिक कलह मिलाउन नसक्ने ओलीले जनमतको अपमान गर्दै संसद विघटन गरे । अब ओली पतनतिर गएका छन्,’ सुवेदीले भने ।
प्रधानमन्त्रीले असंवैधानिक कदम फिर्ता लिनुपर्ने अनेरास्ववियुका नेता सुभेस पराजुलीको माग थियो । पराजुलीले भने, ‘नेपालमा गणतन्त्र ल्याउनका लागि अनेरास्ववियु लडिरहेका बेला ओली घाम तापिरहेका हुन्थे । अहिले त्यही भएर उनलाई गणतन्त्र र संघीयता चाहिएको छैन ।’
प्रकाशित समय १८:०८ बजे
















