गृहपृष्ठ चौतर्फी हस्तक्षेप र दबाब बढाउँदै प्रधानमन्त्री ओली

चौतर्फी हस्तक्षेप र दबाब बढाउँदै प्रधानमन्त्री ओली

आयोग परिसरमा प्रधानमन्त्री ओली ।

असंवैधानिक ढंगले पुस ५ गते संसद विघटन गरेर मुलुकलाई नै राजनीतिक भुमरीमा धकेलेका प्रधानमन्त्री ओलीले चौतर्फी हस्तक्षेप र दबाब बढाउँदै लगेका छन् । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतदेखि गैरकानुनी ढंगले संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गराएका ओली मंगलबार निर्वाचन आयोग कार्यालयमै पुरेर सूर्य चिह्नबाहेक अरुबाट उम्मेदवार नबनेको भन्दै फर्किए ।

संविधानमा संसद विघटनका लागि विशेष व्यवस्था छ तर राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत प्रभावमा पार्दै ओलीले संसद विघटन गराए । त्यसविरुद्धको मुद्दामा अहिले सर्वोच्चमा बहस भइरहेको छ । केही दिन अघिमात्र उनले संवैधानिक निकायहरूमा ३२ जनालाई नियुक्ति दिए । यो नियुक्ति पनि असंवैधानिक भन्दै सर्वोच्चमा मुद्दा परेको छ । तर, तीनै पदाधिकारीलाई प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाट सपथ खुवाए ।

संविधानलाई नै धरापमा पारेर मनपरी ढंगले अघि बढेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाले साधारण सदस्यसमेत नरहने गरी प्रधानमन्त्री ओली कारबाही गरिसकेको छ । पार्टीको विधानअनुसार केन्द्रीय कमिटी र स्थायी समितिका दुई तिहाइ सदस्यले कारबाही गरेपछि ओली स्वतः पार्टीबाट हट्नुपर्ने व्यवस्था छ । तर, निर्वाचन आयोगलाई प्रभावमा पारेर ओलीले अनिर्णयको बन्दी बनाइदिएका छन् । मंगलबार त प्रोटोकलसमेतलाई बेवास्ता गर्दै ओली निर्वाचन कार्यालय पुगे ।

अहिले ओलीले पार्टी नै पूर्णतः एकीकरण नभएको अवस्थामा अन्य कुनै पनि लागू नहुनेसम्मको प्रचार गर्न थालेका छन् । यसको अर्थ ओलीले पार्टी एकीकरणलाई अवैधानिक सावित गर्ने प्रयास गरेका छन् । जबकि, ओली स्वयंले पार्टी एकीकरणको दस्ताबेजमा २०७५ जेठ ३ गते हस्ताक्षर गरेका छन् ।

विधानतः चुनाव चिह्न र पार्टीको नाम आफूले नपाउने भएपछि ओली हतारिएर मंगलबार निर्वाचन कार्यालयमै पुगेको नेकपाका युवा नेता योगेश भट्टराई बताउँछन् । ‘हामी विधानअनुसार नै पार्टीका काम कारबाही अघि बढाएका छौँ,’ न्युज कारोबारसँगको छोटो कुराकानीमा उनले भने, ‘विधानविपरीत हुने पार्टीका कुनै पनि गतिविधि हामीलाई स्वीकार्य हुँदैन ।’

प्रधानमन्त्री केपी ओली सर्वसत्तावाद शैलीबाट अघि बढिरहँदा नेपाली कांग्रेस भने अनिर्णयको बन्दी बनेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधव नेपाल र कांग्रेसकै केही नेताहरूले असंवैधानिक ढंगको चुनाव अवैधानिक हुने बताइरहँदा सभापति शेरबहादुर देउवाकै कारण कांग्रेस अफ्ठ्यारोमा छ । लोकतान्त्रिक शक्तिको विरासत बोकेर उभिएको पार्टी असंवैधानिक ढंगकै भए पनि चुनावमा जानुपर्ने देउवाको ‘बालहठ’ले यतिखेर आन्दोलनसमेत देखावटी खालको भइरहेको कांग्रेसकै नेताहरू स्वीकार गरिरहेका छन् । डा. मीनेन्द्र रिजाललगायतले त सभापतिको कदमको खुलेर विरोध गरिसकेका छन् ।

कांग्रेस सभापतिको मौन समर्थनकै कारण ओली थप अराजक बन्दै गएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ । तर, सर्वोच्चले संसद विघटन सदर गरिदिए चुनाव जितेर प्रधानमन्त्री बन्ने लालच पालेका देउवाले कसैका कुरा सुन्न चाहेका छैनन् । ओलीले पनि यही ‘देउवा‑प्रवृत्ति’को आडमा सर्वत्र हस्तक्षेप र दबाब बढाइरहेको राजनीतिक विश्लेषक बताउँछन् ।

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु