गृहपृष्ठ खुर्कोट–दाना प्रसारणलाइन : बागलुङलाई फाइदै फाइदा
खुर्कोट–दाना प्रसारणलाइन : बागलुङलाई फाइदै फाइदा

कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारणलाइन र सबस्टेसन तयार भएको छ । केन्द्रीय प्रसारणलाइनमा जोडिएको उक्त सबस्टेसनले दूरदराजमा उत्पादन भएको विद्युतलाई केन्द्रीकृत गर्ने जनाएको छ ।
दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारणलाइन निर्माण भएर केन्द्रीय प्रसारणलाइनमा जोडिएपछि विद्युत् क्षेत्रमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । पर्वत जिल्ला र म्याग्दी जिल्लामा प्रसारणलाइन तथा सबस्टेसन निर्माण भए पनि बागलुङले समेत यसको प्रत्यक्ष लाभ लिन सक्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा सन् २०१६ मे ३० मा दाना–खुर्कोट प्रसारणलाइन आयोजना निर्माण सुरु गरेको थियो । दाना–खुर्कोट प्रसारणलाइन र सबस्टेसन निर्माणपछि धौलागिरिको उद्योग व्यवसायमा समेत सकारात्मक टेवा पुग्ने आशा गरिएको छ ।
हालसम्म औद्योगिक ग्राम तथा ठूला उद्योग साविक धौलागिरिका चार जिल्लामा छैनन् । अब ठूला उद्योगहरु सञ्चालनमा समेत यसले प्रोत्साहित गर्नेछ । उक्त प्रसारणलाइनले धौलागिरिमा मोदी खोला हुँदै विद्युत् भित्र्याउँदै आएकोमा यसलाई प्रतिस्थापन गरी धौलागिरिको विद्युत् बाहिर पठाउँदै जाने विद्युत् प्राधिकरणले जनाएको छ ।
दाना सबस्टेसनबाट मुस्ताङको फिडर जोडिएका कारण अब मुस्ताङमा विद्युतमा समस्या हुँदा बागलुङमा कुनै अवरोध नआउने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इन्जिनियर शिवनारायण गोशालीले जानकारी दिए । उनका अनुसार बागलुङलाई अहिलेदेखि पछि दीर्घकालसम्मका लागि खुर्कोट–दाना सबस्टेसनले फाइदा पु‑याउनेछ ।
हालसम्म मुस्ताङमा उत्पादन भएको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको १३.४ र म्याग्दीको घलेम्दी जलविद्युत आयोजनाको पाँच मेगावाट विद्युत् करिडोर प्रसारणलाइनले छोएको दाना सबस्टेसनबाट जोडिएको छ । केन्द्रीय प्रसारणलाइनमा दाना नपुग्दासम्म मुस्ताङको थापाखोला जलविद्युत् आयोजना आधा क्षमतामा मात्रै चल्दै आएको थियो ।
अहिले केन्द्रीय प्रसारणलाइनमा जोडिँदा पूरा क्षमतामा आयोजना चल्न सुरु गरेको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा उत्पादन भएको विद्युत् खुर्कोट सबस्टेसनमार्फत वितरण हुनेछ । कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारणलाइन र सबस्टेसन तयार भएपछि बागलुङमा छुट्टै फिडर ल्याउने विकल्प तयार भएको छ ।
प्रसारणलाइनमा दुई ठूला आयोजना घलेम्दी र थापाखोला जलविद्युत् आयोजना जोडिएको प्रसारण आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए । सबस्टेसनसहित ३९.६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारणलाइन निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले दुई अर्ब ९० करोडमा ठेक्का लिएर काम सम्पन्न गरेको छ ।
प्रकाशित समय ०६:५६ बजे