गृहपृष्ठ संसद विघटनविरुद्धको विरोध सभाअघिको जुलुसमा हजारौँ सहभागी
संसद विघटनविरुद्धको विरोध सभाअघिको जुलुसमा हजारौँ सहभागी

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध आयोजना गरिएको विरोध सभाअघिको जुलुसमा हजारौँ सहभागी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड‑माधव समूह)ले आयोजना गरेको जुलुसमा हजारौँले सहभागिता जनाएका हुन् ।
विभिन्न पाँच ठाउँबाट निस्किने जुलुसलाई दोस्रो तहका नेताहरूले नेतृत्व गरेका छन् । पुल्चोकबाट निस्केको जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदले गरेका छन् ।
त्यस्तै त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गरिरहेका छन् ।
माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदले नेतृत्व गरेका छन् ।
केशरमहलबाट निस्किएको जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले र जमलबाट निस्किएको जुलुसको लीलामणि पोखेल, केन्द्रीय कमिटी सदस्य, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यलगायतले नेतृत्व गरेको केन्द्रीय संघर्ष समितिले जनाएको छ । विरोध सभालाई अध्यक्षहरू प्रचण्ड, नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।
प्रकाशित समय १२:०७ बजे