गृहपृष्ठ नारायणकाजीले राजीनामा दिनुको पछाडि अर्कै रहस्य !

नारायणकाजीले राजीनामा दिनुको पछाडि अर्कै रहस्य !

narayan kaji shrestha_newskarobar

नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले राजीनामा दिनुका केही कारण खुलेका छन् । डा. गोविन्द केसीलाई अनसनस्थलमै भेट्न गएको विषयमा अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेकै विषयलाई लिएर उनले राजीनामा दिएको बताइएको थियो । तर, उनले राजीनामा दिनुको अन्य कारण उनी निकट नेताले खुलाएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा नलानु, लगे पनि पूर्व छलफल नगर्नु तथा बामदेव गौतमलाई सांसदमा उठाउने सुइँको पाएपछि श्रेष्ठले राजीनामा दिएका उनी निकट एक नेताले बताए । नाम नबताउने सर्तमा ती नेताले भने, ‘कुनै पनि विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्नुअघि आफूहरु कुराकानी गरेर जानुपर्छ भन्ने उहाँको भनाइ हो,’ ती नेताले भने, ‘उहाँ प्रचण्डपछि दोस्रो वरियताको नेता हुनुहुन्छ, पूर्वएमालेबाट बामदेवलाई सांसद बनाउँदा भविष्यमा पदीय जिम्मेवारी भाग लाग्न सक्ने स्थिति बन्छ । त्यसैले पनि उहाँ असन्तुष्ट हुनुभएको हो, उहाँको कदम सामान्य नै हो ।’

छलफल भएको विषयमा धेरै ज्ञान नै नभइ प्रवक्ताले पत्रकारहरुलाई के जानकारी दिने भन्नेमा श्रेष्ठले असन्तुष्टि राख्दै आएका थिए ।

श्रेष्ठले राजीनामा दिएपछि ओली र प्रचण्डले उनलाई ‘कन्भिन्स’ गर्ने प्रयास गर्दा उनले अस्वीकार गरेका थिए । तर, अहिले उनी पुनः जिम्मेवारीमा फर्कन सकारात्मक भएको ती नेताले बताए । ‘उहाँ अब फर्किनुहुन्छ,’ उनले भने, ‘चेपिएर वा थिचिएर बस्दिन भन्ने उहाँको तर्क जायज थियो, यो कुरा ओली र प्रचण्डले बुझेको हुनुपर्छ ।’

डा. केसीलाई अनसनस्थलमै भेट्न गएको विषयमा ओली र प्रचण्डले मौखिक स्पष्टिकरण सोधेका थिए । लगत्तै उनले राजीनामा दिएका थिए । त्यही बेला बामदेव सांसदमा उठ्ने चर्चा चलेको थियो भने डा. केसीका मुद्दामा प्रचण्ड र ओलीबीच पटक–पटक छलफल भएको थियो । तर, छलफल र निष्कर्षबारे श्रेष्ठ आंशिक जानकार हुन्थे भने कतिपय विषयमा उनले सुइँको पनि नपाउने गरेको नेकपा सचिवालयका एक सदस्यले बताए । श्रेष्ठले भने आफूले राजीनामा दिनुको स्पष्ट कारण खुलाएका छैनन् ।

प्रकाशित समय १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु