गृहपृष्ठ संकटमा देउवा, ‘अरुको आङको जुम्रा केलाए, आफ्नोमा भैँसी देखेनन्’

संकटमा देउवा, ‘अरुको आङको जुम्रा केलाए, आफ्नोमा भैँसी देखेनन्’

शशांकले छाडिदिए साथ

sherbahadur deuba-newskarobar

विधानविपरीतको अभ्यासमा लागेको आरोप खेप्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै कारण संकटमा परेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि आफूलाई साथ दिएका नेताबाट टाढिँदै गएका देउवा महामन्त्रीका कारण थप संकटमा परेका हुन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह र नेता अर्जुननरसिंह केसी मिलेपछि पार्टी संरचनामा देउवा अल्पमतमा परेका छन् । यद्यपि, देउवालाई महामन्त्री डा. शशांक कोइरालाको साथ भने कायमै थियो । तर, आफ्नो समर्थनको पनि देउवाले दुरुपयोग गरेको भन्दै महामन्त्री कोइरालाले अब साथ दिन नसक्ने घोषणा गरेपछि देउवा संकटमा परेका हुन् ।

 

यसअघि सभापतिका विषयमा टिप्पणी नगर्ने महामन्त्री कोइराला आइतबार विराटनगर पुगेर देउवाविरुद्ध बोले । प्रजातान्त्रिक विचार समाजले गरेको उनले भने, ‘सभापतिले मेरै कुरा सुन्न छोड्नुभयो, महासमिति बैठक बोलाउन भनेर पटक–पटक भन्दासमेत उहाँले मान्नुभएको छैन ।’

 

धेरै अप्ठेरो नपारौँ भनेर साथ दिन खोजे पनि देउवाले उक्त साथको समर्थन गर्न नसकेको महामन्त्री कोइरालाको भनाइ थियो । उनले संस्थागत रुपमा पार्टी सञ्चालनका लागि सहयोग गर्न खोजे पनि सभापतिले त्यसलाई दुरुपयोग गरी गुटतिर मोड्न खोजेको आरोप पनि लगाए । महामसमिति बैठकमा जानका लागि विधान मस्यौदा समिति बनाउन आफूले पहल गरेको तर सभापति देउवा र पौडेल दुबैले नाम नदिएको कोइरालाको दाबी छ । उनले सभापतिकै कारण भदौभित्र महासमिति बैठक हुन नसक्ने भन्दै असोजको पहिलो साता महासमिति बैठक हुने बताए ।

सभापति देउवा विरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका बोल्दै आएका डा. शेखर कोइरालले पनि देउवाले संगठनलाई भागवण्डामा मात्र चलाउन खोजेको आरोप लगाए । उनले प्रदेश समिति बनाउँदा पनि त्यसै गरेर थप समस्यामा पार्न सक्ने चेतावनी पनि दिए । ‘प्रदेशमा रामचन्द्रजीलाई तीन सभापति दिएर आफूले चार सभापति नियुक्त गर्ने र तदर्थ समिति बनाउने भन्ने सुन्दैछु,’ शेखरले भने, ‘त्यसरी भागवण्डा गर्ने हो भने शेखर कोइरालाले किन नपाउने, अर्को व्यक्तिले किन नपाउने ?’ आफूचाहिँ केही नगर्ने र अरुलाई गालीमात्रै गर्ने सभापतिको प्रवृत्तिले पार्टी समस्यामा परेको शेखरको दाबी छ ।

 

‘पार्टीमा ४२ विभाग नबनाउने, समिति नबनाउने, यही अवस्था जिल्ला–जिल्लामा पनि छ, अनि कम्युनिष्टलाई गालीमात्र गरेर संगठन सुदृढ हुँदैन,’ शेखरले भने, ‘उहाँलाई केही पनि नगर्न १३औं महाधिवेशनले म्याण्डेड दिएको हैन, अब पनि मनलाग्दी गर्न पाउनुहुन्न ।’ काम गर्ने धेरै अवसर गुमाएकाले देउवाकै कारण पार्टी ‘ध्वस्त’ भएको उनले दाबी गरे ।

अर्का नेता कृष्ण सिटौलाले त देउवा आफ्नै कारण संकटमा परेको भन्दै अहिले कार्यकाल लम्ब्याउने र पाँच वर्ष पुर्याउनेबाहेक उनीसँग अर्को कुनै योजना नरहेको दाबी गरे । ‘उहाँको कार्यकाल अब डेढ वर्ष बाँकी छ, उहाँले एक वर्ष थपेर अढाइ वर्ष पुर्याउन कसरत गर्दै हुनुहुन्छ,’ सिटौलाले भने, ‘हामी पनि चुप लागेर बस्दैनौं, कसरी पार्टी चलाउनुहुन्छ हेर्दै जाउँ ।’
कस्तो छ देउवाको अवस्था ?

 

१३ औं महाधिवेशनमा खुमबहादुर खड्का र सिटौला गुटको साथ लिएर आवश्यक बहुमत हासिल गरेका देउवा अहिले संरचनागत हिसाबमा अल्पमतमा छन् । नेविसंघमा सिटौला समूह बाहिएलगत्तै देउवा निटकका अध्यक्ष नैनसिंह महरको दुई वर्षे कार्यकाल केन्द्रीय समिति बैठकसमेत नराखी बितेको छ । पार्टीले थपिदिएको तीन महिनामा पनि उनले महाधिवेशन गराउन पाउने–नपाउने सुनिश्चित हुन सकेको छैन ।

 

अर्को भ्रात्री संगठन नेपाल तरुण दलको अवस्था त अझ नाजुक छ । पोखरा महाधिवेशनबाट भागबन्डामा सभापतिको तर्फबाट अध्यक्ष बनेका जितजंग बस्नेतले अझैसम्म केन्द्रीय समिति विस्तार गर्न सकेका छैनन् । सभापति देउवाले दुई, वरिष्ठ नेता पौडेलले दुई, सिटौलाले एक र अर्का नेता खुमबहादुरले एक गरी नियुक्त गरेका पदाधिरीबाहेक अहिलेसम्म कुनै सदस्य थपिएका छैनन् । अर्को अधिवेशन तीनै पदाधिकारीले घोषणा गर्ने अवस्था छ । महिला संघमा आफ्नो र सिटौलाको मात्र प्यानल विजयी गराएर त्यसबेला पौडेललाई एक सदस्यमा खुम्च्याएका देउवा अहिले त्यही महिला संघमासमेत सहजरुपमा काम गर्न सक्ने अवस्थामा छैनन् ।

 

यता, ट्रेड युनियन कांग्रेसको महाधिवेशनमा त एक केन्द्रीय सदस्यमा खुम्चिएका देउवा अहिले त्यही अवस्थाका कारण समर्थक खोज्ने र आफू बलियो भएर मात्र सबै काम गर्ने तयारीमा छन् । तर, सधैँ साथ दिँदै आएका महामन्त्री शशांकलेसमेत साथ नदिने घोषणा गरेपछि पार्टीमा कुनै पनि निर्णय लिन देउवालाई असहजता बढ्दै गएको कांग्रेसका जानकारहरु बताउँछन् ।

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु