गृहपृष्ठ प्रधानमन्त्री ओलीले बचन दिएको रकम नआउँदा सडक मर्मत तथा स्तरोन्नती कार्यको भविष्य संकटमा

प्रधानमन्त्री ओलीले बचन दिएको रकम नआउँदा सडक मर्मत तथा स्तरोन्नती कार्यको भविष्य संकटमा

ताप्लेजुङ – पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले ताप्लेजुङको पाथिभरा क्षेत्रको सडक निर्माणका लागि पठाउने बचन दिएको १० करोड रुपैयाँको सबै अंश नआउँदा उनी दोस्रो पटक प्रधानमन्त्री भएकै बखत यो क्षेत्रको सडक मर्मत तथा स्तरोन्नती कार्यको भविष्य संकटमा परेको छ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको क्रममा तोक्मेडाँडामा आयोजित चुनावी आमसभामा समेत ओलीले आफूले पाथिभराको सडक निमार्णका १० करोड रुपैयाँ पठाएको तर त्यो रकम खर्च हुन नसकेको भन्दै ‘बिलो’ठेक्का प्रति कटाक्ष गरेका थिए। तर ओलीले बोलेको जति रकम पनि नआएपछि पाथिभरा क्षेत्रको सडक निमार्णको गति सुस्त बन्दै गएको छ।
पाथिभरा क्षेत्रको सडक निमार्णको नियमन गरिरहेको उत्तर दक्षिण लोकमार्ग योजनाले तयार पारेको विस्तृत अध्यन प्रतिवेदनले अझैं ४ करोड रुपैयाँ भएमा मात्र ओलीले भने झैं काम सम्पन गर्न सकिने देखाएको छ। रकम अभावमा ठेकेदार कम्पनीले कामको गति दिन आलटाल गरिरहेको पाइएको छ। उत्तर दक्षिण लोकमार्ग योजना प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर कुबेर नेपालीले गएको वर्षको असार भित्रै भुक्तानी दिनुपर्ने डेढ करोड बढी रकम मध्ये गएको फागुन महिना भित्रमा ९० लाख मात्र भुक्तानी दिन सकिएको जानकारी दिए। उनले तत्कालै डेढ करोड रुपैयाँ प्राप्त भएमा यसअघि निमार्ण कम्पनीले गरे अनुसारको भुक्तानी दिएर उनीहरूलाई काममा कडाई गर्न सकिने संकेत गरे।
सिडिई नेपालीका अनुसार सुकेटारबाट गुप्ते सम्मको सडक पक्की र काफ्ले पाटी सम्मको सडकको स्तरोन्नतीका लागि १० करोड बढी रकम आवश्यक पर्छ। ओलीले रकम दिने घोषणा गर्नुपूर्व देखि नै यिनै कार्यका लागि विस्तृत अध्यन गरिरहेको बताउने नेपालीले ४ करोड रुपैयाँ तत्कालै आएमा यि कार्य पूरा गर्न सकिने बताए। रकम आउने आश्वासनमा धमाधम काम लगाएपनि काम अनुसारको रकम दिन अर्थ मन्त्रालयले गरेको इन्कारीले अहिले समस्यामा पारेको नेपालीले बताए। ‘अघिल्ला भुक्तानी पनि एकैपटक नआएर टेन्सन’उनले भने।
प्राविधिक खर्च बाहेक १० करोडको ठेक्का ४१ प्रतिशत कममा ठेक्कामा लागेको भन्दै तोक्मेडाँडामा आयोजित चुनावी सभामा ओलीले‘१० करोडले राम्रो काम बन्छ भनेर ४१ प्रतिशत घटेर ठेक्का हालेछन्’भन्दै बिलो ठेक्का प्रति व्यंग गरेका थिए। पहिलो पटक प्रधानमन्त्री भएका बेला नेता सुवास नेम्बाङ र आफ्नै मन्त्रीमण्डलका कानून मन्त्री अग्नी खरेलका साथ ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गर्न आएका प्रधानमन्त्री ओलीले सुकेटारमा आयोजित कार्यक्रम मार्फत उक्त रकम पठाउने बचन दिएका थिए। तर उनको बचन अनुसार अर्थले नियमित बजेट नदिनु र पैसा नपाएको बहानामा ठेकेदारले कामलाई तिव्रता नदिनु जस्ता कारण पाथीभरा क्षेत्रको सडकको हालत ज्यूँ का त्यूँ छ।
पाथिभरा क्षेत्रको सडक र यहाँका समस्या बारे छलफल गर्न आइतबार बिहान प्रतिनिधिसभामा यहाँबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईको आग्रहमा भएको सरोकारवालाको छलफलमा सांसद भट्टराईले अपुग रकम व्यवस्थापनका लागि प्रधानमन्त्री ओलीसग आग्रह गर्ने बचन दिए। प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समिति, फुङलिङ नगरपालिका, राजनीतिक दलका अगुवा, पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति र पाथिभरा क्षेत्र विकास समितिका पदाधिकारी सहित भएको छलफलमा भट्टराईले अपुग रकमको व्यवस्थापनका लागि प्रधानमन्त्री ओलीसँग तत्कालै आग्रह गर्ने बताए।
उनले पाथिभरा क्षेत्रमा अरु विकासका पूर्वाधारका लागि आफूले सरकार सहित अन्य निकायको ध्यानाकर्षण गरिरहेको जानकारी पनि दिए। भट्टराईले उत्तर दक्षिण लोकमार्ग योजना प्रमुख नेपालीलाई ठेकेदार कम्पनीले ७ दिन भित्र ठेक्का रकम अनुसारको कामलाई तीव्र बनाउने कार्य सुरु गर्न निर्देशन पनि दिएका छन्। ‘काम गर्नुहोस्,म पैसाको व्यवस्थापनका लागि हमेसा तयार छु’भट्टराईले काम गर्ने वातावरणमा हौसला थपे। उनका अनुसार ठेक्का लिएका कम्पनीलाई पैसाको व्यवस्थापन गर्न अनिवार्य छ, तर यसको बहानामा कामबाट टाढा रहने छुट छैन। उनले अहिले काम गरिरहेका ठेकेदार कम्पनीलाई काममा फर्कन र नमाने ठेक्का तोडिने परिस्थितिको सामनाका लागि तयार रहन आग्रह गरेका छन्।
क्षेत्रको सडकका लागि सरकार समेतको ध्यानाकर्षण गराउने निर्णय भएको पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका कार्यवाहक अध्यक्ष रणबहादुर कार्कीले जानकारी दिए।

प्रकाशित समय २१:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु