गृहपृष्ठ प्रकाण्डको रोचक काण्ड : पाँचाैं पटक पक्राउ
प्रकाण्डको रोचक काण्ड : पाँचाैं पटक पक्राउ
पक्राउ पर्ने र आदेश दिने दुवै पूर्व माओवादी !
फाइल तस्बिर
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा गरेलगत्तै प्रहरीले फेरि पक्राउ परेका छन् । जिल्ला अदालत भोजपुरले बुधबार विश्वकर्मालाई धरौटीमा रिहा गरेलगतै प्रहरीले पाँचौं पटक पक्राउ गरी दाङ लगेको छ ।
पटक–पटक अदालतको आदेशबाट रिहा हुने र पुन प्रहरीले पक्राउ गर्ने पाँचौं श्रृंखला हो । यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो ।
गएको मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन बिथोल्न हिंशात्मक गतिविधि गरेको आरोप लगाएर विश्वकर्मालाई श्रृंखलाबद्ध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा लग्ने क्रम जारी छ । चुनावका लागि चन्द समूहबाट सुरक्षा थ्रेट रहेको विश्लेषण भए पनि छिटफुट बिस्फोटका घटनाबाहेक चुनाव नै विथोल्ने गतिविधि गर्न सकेका थिएनन् । तर पनि पञ्चायतकालमा जस्तो दुःख दिने नियतले राजनीतिक व्यक्तिमाथि गैर राजनीतिक धरपकड गरिएको टिप्पणी हुँदै आएको छ ।
एक साताअघि मन्त्रिपरिषद् बैठकले द्वन्द्वरत पक्षसँग वार्ता गर्न समिति गठन गरेको थियो । समिति गठन गरे पनि सरकार द्वन्द्वरत पक्षसँग वार्ता गर्न भन्दा चिड्याउन व्यस्त रहेको विश्लेषण हुँदै आएको छ । नेकपाका नेता सोमप्रसाद पाण्डे नेतृत्वमा समिति गठन गरे पनि विप्लव समूहका नेताहरुलाई भने धम्काएरै ठेगानमा ल्याउने सरकारको नीति रहेको बताइन्छ ।
‘वार्तामा आउन दबाब दिन विश्वकर्मालाई जस्तै प्रशासनिक कारवाहीमार्फत उनीहरुलाई ठेगान लगाउने नीति सरकारले अख्तियार गरेको छ,’ सत्तारुढ दलका नेताहरु भन्छन् । तर संयोजक पाण्डे भने विप्लवलगायत सबै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा ल्याउने प्रयासमा रहेको दावी गर्छन् ।
दाङबाट छुटेपछि कँहा पुर्याइन्छ ?
सबभन्दा रोचक विषय त पक्राउ परेका विप्लव समूहका प्रवक्ता विश्वकर्मा अदालतले रिहाइ गर्ने र लगत्तै पक्राउ परिरहेका छन् । पक्राउ पर्ने र पक्राउको आदेश दिने दुवै पूर्व माओवादी हुन् । माओवादीको नेतृत्वमा २०५२ सालदेखि भएको दश वर्षे शसस्त्र जनयुद्धका सहयात्री रामबहादुर थापा वर्तमान सरकारमा गृहमन्त्री छन् । र उनले आफ्नै पूर्व सहयात्री विश्वकर्मालाई पटक पटक पक्राउ गर्न आदेश दिइरहेका छन् ।
गृहमन्त्री थापा र चन्द ४ वर्षअघिसम्म एउटै पार्टीमा थिए । पहिलो संविधानसभा बिगठन भएसँगै थापा र चन्द, मोहन वैद्यसँग मिलेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको माओवादीको मूलधारबाट अलग्गिएका थिए । बृद्ध नेताहरुले क्रान्ति गर्न नसक्ने आरोप लगाउदै वैद्य र बादलले नेतृत्व गरेको माओवादीबाट अलग्गिएर २०७१ सालमा चन्दले छुट्टै पार्टी खालेका थिए ।

२०७१ मंसिर १३ गते नेकपा क्रान्तिकारी माओवादीको नाममा चन्दले पार्टी खोलेपछि वैद्यका पार्टीका थापा दाहाल नेतृत्वको माओवादीमा मिसिए । २०७३ जेठ ६ गते थापा, देव गुरुङल, पम्फा भुसाललगायत वैद्यको नेतृत्वको पार्टी छाडेका थिए । यसरी अहिले पूरानै पार्टीमा फर्किएका थाप नेकपा एमालदेसंगको एकतापछि लाभको पदमा रहेका छन् ।
राष्ट्रिय सभाका सदस्य हुँदै गृहमन्त्री बनेका उनै थापाले अहिले बिभिन्न अभियोग लगएर पूर्वसहकर्मीलाई पक्राउ गरेको आरोप लागेको छ । विप्लव समूहका नेताहरु बिभिन्न ब्यापारीलाई धम्काएर चन्दा उठाउनमा उद्यत रहेको सरकारको आरोप छ । विप्लव समूह अहिले नेकपाका अध्यक्ष दाहाल र गृहमन्त्री थापासँग रुष्ट छन् ।
विप्लव समूहका प्रभावशाली नेतादेखि कार्यकर्तासम्म धमाधम पक्राउ गरेपछि बदला लिने चेतावनी दिइरहेका छन् । विश्वकर्मापछि उमा भुजेल लगायतका प्रभावशाली नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्ने डरले विप्लवलगायत सो पार्टीका नेताहरु भूमिगत जस्तै छन् ।
प्रकाशित समय ०९:२४ बजे
















