गृहपृष्ठ परराष्ट्रमन्त्री ज्ञवालीको चिन भ्रमण : स्पष्ट विदेश नीति र सम्बन्ध सुधार
परराष्ट्रमन्त्री ज्ञवालीको चिन भ्रमण : स्पष्ट विदेश नीति र सम्बन्ध सुधार
काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बूढीगण्डकी जलविद्युत् परियोजनाको बारेमा चीन सरकारसँग कुनै छलफल नहुने बताएका छन । चिनियाँ समकक्षी वाङ यि को निमन्त्रणमा ६ दिने भ्रमणमा जानुपूर्व हिजो परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले बूढीगण्डकी जलविद्युत परियोजनाबारे चीन सरकारसँग छलफलको कुनै एजेन्डा नभएको स्पस्ट पारे । बूढीगण्डकी परियोजनाबारे पूर्ववर्ती सरकारले गरेको निर्णय अध्ययनको चरणमा रहेको उनको भनाइ थियो । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले बूढीगण्डकी परियोजना निर्माणको जिम्मा चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) लाई दिने निर्णय गरेको थियो । तर सो निर्णय शेरबहादुर देउवा सरकारले खारेज गरेको थियो । परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वतयारीको रुपमा पनि लिइएको छ । तर, मन्त्री ज्ञवालीले यस विषयमा स्पष्ट जवाफ दिन चाहेनन् । आफ्नो भ्रमणको उदेश्य निर्वाचनपछिको सरकारको विदेशनीति र प्राथमिकताबारे चिनियाँ सरकारलाई जानकारी गराउनु रहेको मन्त्री ज्ञवालीले बताए ।
चीनले प्राथमिकतामा राखेको बेल्ट एण्ड रोड इनिसिएटिभ्स् (बीआरआई) नेपालको पनि प्राथमिकतामा रहेको भन्दै मन्त्री ज्ञवालीले दुबै देश मिलेर त्यसको मोडालिटी तयार पारिने बताए । बीआरआई अन्तर्गत नेपालको प्राथमिकता पूर्वाधार निर्माण अन्तर्गत सडक, रेल र ट्रान्समिसन लाइन भएको उनको भनाइ थियो । मन्त्री ज्ञवालीले भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने विषयमा चीन सरकारसँग कुरा हुने बताएका छन ।
प्रकाशित समय १६:०० बजे
















