गृहपृष्ठ प्रकाण्ड छुट्दै, विप्लवका नेता कार्यर्तालाई छाड्ने सरकारको मनस्थिती

प्रकाण्ड छुट्दै, विप्लवका नेता कार्यर्तालाई छाड्ने सरकारको मनस्थिती

prakanda-newskarobar फाइल तस्बिर

पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेता रिहा हुने भएका छन् । सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिए पनि एकपछि अर्काे मुद्दामा पक्राउ गरिरहेको प्रकाण्डलाई अब भने अर्काे मुद्दा नलगाइने भएको हो ।

पक्राउ परेका अरु नेता तथा कार्यकर्तालाई पनि यही नीति अपनाउने गृहमन्त्रालयको तयारी छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता–कार्यकर्ता रिहाइलाई वार्ताको पूर्वशर्त मानेपछि सरकार सहमत भएको हो । सरकारले आफ्नो पार्टीलाई हिंशात्मक समूह नभनी राजनीतिक पार्टीको रुपमा व्यवहार गर्नुपर्ने विप्लव माओवादीको शर्त छ ।

सरकारले द्वन्द्वरत विभिन्न पक्षसँग वार्ता गरी समस्या समाधानको पहल गर्न गठित वार्ता टोलीले गृहमन्त्रीसँग छलफल गर्दै विप्लव नेतृत्वका नेकपाका शर्तहरु प्रष्ट्याएका थिए । सो विषयमा गृहमन्त्री रामबहादुर थापा सकारात्मक देखिएपछि अब विप्लप माओवादीका नेता कार्यकर्तालाई धरपकड नगर्ने समझदारी भएको जनाईएको छ । यससँगै प्रवक्ता प्रकाण्ड, पेलिटब्युरो सदस्यहरु पदम राई, किरण राई, उमा भुजेल र केन्द्रीय सदस्यहरु तथा सबै नेताहरु रिहा हुनेछन् ।

सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेपछि उसले राखेको शर्त पालना गर्दै सरकारले नेता कार्यकर्ता रिहा गर्न तयार भएको जनाईएको छ । पक्राउ परेका नेता तथा कार्यकर्तालाई विनाशर्त रिहाई गर्दै वार्ताको वातावरण बनाउन विप्लव नेतृत्वको नेकपाले माग गरेको वार्ता टोलीका सदस्य गुणराज लोहनीले बताए ।

चन्दा संकलनको आरोपमा साउन २३ गते पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले दुई पटकसम्म बन्दी प्रत्यक्षीकरण रिटमार्फत रिहाको आदेश दिइसकेको छ । तर सरकारले सर्वाेच्च अदालतको आदेश अबहेलना गर्दै पक्राउ गर्दै विभिन्न जिल्ला पुर्याइरहेको छ । पछिल्लो समय सरकारले आफ्ना ५० भन्दा बढी नेता–कार्यकर्तालाई झुटा आरोपमा पक्राउ गरेको नेकपाले दावी गरेको छ ।

 

दस्तावेज ‘लिक’ भएपछि वार्तामा जाँदै
विप्लव नेतृत्वको नेकपाले तयार गरेको पार्टीका महत्वपूर्ण फौजी योजनासहितका कागजात पनि प्रहरीले बरामद गरेको सो पार्टीले जनाएको छ । विगतका केही फौजी कारवाहीदेखि आगामी योजनासम्म चुहिएर आफूहरुको लक्ष्यमा सुरक्षाकर्मी बाधक बन्ने देखिएपछि सो पार्टी वार्ताको लागि तयार भएको बताइन्छ ।

विभिन्न उद्योगपति, व्यवसायीसँग सात करोड रुपैयाँभन्दा बढी चन्दा असुलेको, हिंशात्मक गतिविधि गरेकोलगायतका आरोप सो दलमाथि छ ।

 

वार्ताको लागी तयार छौं : विप्लप समूह
आफूहरु वार्ताको विरोधी नभएको र शान्तिपूर्ण छलफलबाटै समस्या समाधान खोजिनुपर्ने माग आफूहरुको रहेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ । सो पार्टीका पोलिट्ब्युरो सदस्य असारे काकाले न्यूज कारोबारसँग भने, ‘हामी वार्ताको विरोधी होईनौं वार्ताको वातावरण बनेको छैन, पक्राउ गरिएका नेता कार्यकर्ताको रिहाई गर्ने र अहिलेसम्म भएका दमनकारी शैलीको माफि माग्दै सरकारले वार्ताको वातावरण बनाएमा हामी वार्तामा सहभागी हुन्छौं ।’

आफूहरु जनताकै हितको लागि संघर्ष गर्दै आएको बताउदै उनले आफुहरुमाथि राज्यले नृशंस दमन गरेको असारे काकाको आरोप छ । ‘दुई–चार ठाउँमा बम पड्काउदा हामीलाई आतङ्ककारी भन्ने राज्यले अहिले हाम्रा नेता कार्यकर्ता माथि अदालतको आदेश विपरित पक्राउ गरेर ‘गुरिल्ला’ शैली देखायो,’ उनी भन्छन् । वार्ताको वातावरण बनेमा समाज आन्दोलनमा क्रान्तिकारी भूमिसुधार लागु गर्ने, सीमा समस्या, विदेशी राष्ट्रसँग गरिएका राष्ट्रिय हित विपरितका सहमति उल्ट्याउनेलगायतका आफ्ना माग राख्ने र छलफल गर्ने उनको भनाई छ ।

प्रकाशित समय १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु