गृहपृष्ठ जिल्ला र स्थानीय कमिटिबीच छिट्टै एकता : रावल
जिल्ला र स्थानीय कमिटिबीच छिट्टै एकता : रावल
नेकपाका स्थायी समिति सदस्य भीम रावलले जिल्ला र स्थानीय कमिटिबीच छिट्टै एकता हुने बताएका छन् । प्रदेश ७ को इन्चार्ज समेत रहेका नेता रावलले सोमबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला समितिको नाम सिफारिस गर्दा अन्तिम बनाएर पठाएकाले प्रदेश ७ का जिल्ला र स्थानीय कमिटिमा एकता छिट्टै टुंगिने दाबी गरे । उनले केन्द्रीय समितिबाट आएको सुझाव अनुसार केही हेरफेर गर्न बाँकी रहेको समेत बताए ।
संघीयता नयाँ प्रयोग भएकाले सरकारलाई काम गर्न जटिल रहेको बताउँदै नेता रावलले केही काममा अलमल भएकाले प्रदेश सरकारहरुले सुस्त गतिमा काम गरिरहेको भान पर्न गएको बताए । उनले प्रदेश सरकारहरुले संरचना बनाउने, कानुन बनाउने र प्रयोग गर्दै जानुपर्ने स्थितिमा उनीहरुको काममा आलोचना गरिहाल्नुपर्ने स्थिति नरहेको स्पष्ट पारे ।
नेता रावलले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको दोषी पत्ता लगाई कारबाही गर्न पार्टीले सरकार र प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताउँदै दोषीलाई कारबाही हुनेमा आफू विश्वस्त रहेको बताए ।
पत्रकार सम्मेलनमा उपस्थित नेकपाका नेता लेखराज भट्टले आफूले पार्टीको कुनै जिम्मेवारी नपाएकोमा आफ्नो कुनै गुनासो नरहेको बताएका छन् । उनले पार्टीले पद तथा जिम्मेवारी बाँडफाँडमा कुनै पक्षपात नरहेको समेत बताएका छन् । उनले हाल भएको पार्टीको नियुक्ति महाधिवेशनसम्मका लागि मात्रै भएकाले पदमा आफू नभएपनि उत्तिकै जिम्मेवार भएर काम गरिरहेको बताए ।
पार्टीको निर्देशनलाई सरकारमाथी पार्टीको हस्तक्षपको रुपमा बुझ्न नहुने समेत नेता भट्टले आग्रह गरे । यसैबीच, नेकपाको प्रदेशस्तरीय बैठक सोमबार धनगढीमा शुरु भएको छ । बैठकमा नेकपामा नेता, सांसद तथा मन्त्रीहरुको समेत सहभागिता छ ।
प्रकाशित समय १३:४९ बजे
















