गृहपृष्ठ नेकपा विवाद : सामाजिक सञ्जालमै बाझाबाझ

नेकपा विवाद : सामाजिक सञ्जालमै बाझाबाझ

yogeshbhattarai-newskarobar

नेपाल कम्युनिस्ट पार्टी नेकपामा शीर्षनेताहरुबीच आरोप–प्रत्यारोप चलिरहेका बेला दोस्रो तहका नेता सामाजिक सञ्जालमै बाझाबाझ गर्न थालेका छन् । तेस्रो वरीयताका नेता माधवकुमार नेपालले शुक्रबार स्थायी समिति सदस्यहरूको भेला डाकेर पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि तल्लो तहका नेता सामाजिक सञ्जालमै झगडा गर्न थालेका हुन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला नेता नेपालले शुक्रबार काठमाडौंमा भेला गरेका थिए ।
सामाजिक सञ्जालमा ओली पक्ष र नेपाल पक्षका नेता आरोप–प्रत्यारोपमै उत्रिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री ओलीसँगै रहेका नेता रिमालले नेपाल पक्षको भेलालाई लक्षित गरी ट्विट गरेका थिए– ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ ।’

 

जवाफमा नेपाल पक्षका नेता भट्टराईले लेखेका छन्– ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् ! कठै दोसी चस्मा ।’

 

 

दुई नेताबीच सामाजिक सञ्जालमा सवाल–जवाफ भएको यो पहिलो घटना भने होइन । यसअघि, तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको प्रयास चलिरहेका बेला पनि भट्टराई र रिमाल सामाजिक सञ्जालमै आरोप–प्रत्यारोपमा उत्रिएका थिए । युवालाई नेतृत्वको अवसर दिइनुपर्ने भन्दै नेता भट्टराईले दुवै पार्टीका अध्यक्षले सन्यास लिनुपर्ने बताएका थिए । जवाफमा नेता रिमालले ‘माकफुइँले सगरमाथा चढेको’ टिप्पणी गरेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको चार महिना बितेको छ । तल्ला तहको कमिटी एकीकरणमा विलम्ब भइरहेको छ । गठन भएका संरचनामा नेता नेपाल पक्षले असमान व्यवहार गरेको गुनासो सार्वजनिक रुपमै गरिरहेका छन् ।

प्रकाशित समय १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु