गृहपृष्ठ सरकारमाथि उठेका प्रश्नबारे हामी गम्भीर छौं : प्रचण्ड
सरकारमाथि उठेका प्रश्नबारे हामी गम्भीर छौं : प्रचण्ड
फाइल तस्बिर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुंगोमा पुर्याइने बताएका छन् । दसैंको अवसरमा नेकपा प्युठान-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा प्रचण्डले आइतबार पार्टी सचिवालयको बैठक बसेर प्रदेश र जिल्लाको पार्टी एकता र जनसंगठनको एकतालाई टुंगोमा पुर्याउने गरी अघि बढ्ने जानकारी गराए ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले सरकारको काम-कारबाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तर्क्रिया गरेर अघि बढ्न आफूहरू प्रतिवद्ध रहेको बताए । ‘सरकारको कामलाई प्रभावकारी बनाउन हामी समीक्षा गर्दै छौं, मानिसले विभिन्न प्रश्न उठाएका छन् तर हामी सबै एकै ठाउँमा छौं,’ उनले भने, ‘समृद्धि, सामाजिक, न्याय र सुशासनको विषयमा सैद्धान्तिक र राजनीतिक रूपमा कुनै दुबिधा छैन ।’ सरकारमाथि उठेका प्रश्नले अाफूहरूलार्इ गम्भीर बनाएको अध्यक्ष प्रचण्डको भनाइ छ ।
जनताले विश्वासका साथ पार्टीलाई मत दिएर शक्तिशाली बनाएको भन्दै उनले विकास निर्माण, सुशासन र समृद्धिको जनअपेक्षा पूरा गर्न नेतृत्व र सबै सचेत नागरिक एकताबद्ध भएर लाग्नुपर्नेमा बताए ।
नेकपा सचिवालय सदस्य वामदेव गौतमले प्युठानको प्रतिनिधित्वको हिसाबले आफूले अघि सारेको विकास निर्माणको प्रतिबद्धताअनुरुप बाँकी काम पूरा गर्न सक्रिय ढंगले लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्युठानबाट प्रतिनिधित्व गर्ने विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
प्रकाशित समय १२:४० बजे

















