गृहपृष्ठ रामवीरलाई रिझाएपछि गौतमको चुनौती मतदाता कसरी फकाउने ?
रामवीरलाई रिझाएपछि गौतमको चुनौती मतदाता कसरी फकाउने ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामवीर मानन्धरले राजीनामा घोषण गरे पनि उप-निर्वाचनमार्फत संसद छिर्न नेता बामदेव गौतमलाई सहज नभएको विश्लेषण सुरु हुन थालेको छ ।
निर्वाचनमार्फत ५ वर्ष अस्वीकृत भइसकेका गौतमले निर्वाचित सांसदलाई राजीनामा गराउनु उचित नभएको टिप्पणी हुँदै उनले जित्नेमा आशंका गरिएको छ । काठमाडौं क्षेत्र नम्बर ७ का सांसद मानन्धरलाई फकाउन सजिलो भए पनि मतदातालाई रिझाउन भने सहज नभएको बताइन्छ ।
गौतमले यस अघिदेखिनै अरु क्षेत्रका सांसदलार्ई राजीनामा गराउने प्रयास गर्दा नै आलोचना शुरु भएको थियो । अहिले भने मानन्धरले राजीनामा दिएर उपनिर्वाचन गर्न तयार भएपछि गौतमको विरुद्ध सडकदेखि सामाजिक सञ्जालको जनमत बढेको छ । ‘चुनाव हारेका नेता, चुनाव जितेकालाई बलीको बोका बनाएर सांसद हुन खोज्यो’ भन्दै नेकपाकै नेता कार्यकर्ताले आलोचना गरिरहेका छन् ।
‘गौतम सांसदमा भए के हुन्छ, नभएर के भयो ?’ भन्ने जवाफ लिन कसैले दिन नसकेको बेलामा चुनाव जित्न उनँलाई अप्ठ्यारो पर्ने आंकलन गरिएको छ ।
आफू जसरी पनि सांसद हुने चाहनामा उपनिर्वाचन गराइँदा नेकपाकै नेता कार्यकर्ता रुष्ट देखिएकोले उपनिर्वाचन गौतमकै लागि घातक देखिएको विश्लेषक सुरेन्द्र केसी बताउछन् । ‘स्वाभाविक प्रक्रियाबाट पद रिक्त भएको र उपनिर्वाचन हुने भएको भए मतदातामा पनि उत्साह हुन्थ्यो । तर जसरी पनि सांसद बन्ने ध्येय लिएर उपनिर्वाचन गराइँने भएकाले नेता कार्यकर्तालेनै गौतमलाई भोट हाल्दैनन्,’ केसी भन्छन् ।
जहाँ स्थानीय उम्मेदवार रुचाइन्छ
राजीनामा घोषणा गरेका मानन्धर काठमाडौंका स्थानीय हुन् । गएको निर्वाचनमा कांग्रेस र राप्रपाले गठबन्धन गरेका थिए । राप्रपाका नेता तथा पूर्व राज्यमन्त्री विक्रम बहादुर थापा कांग्रेस र राप्रपाका साझा उम्मेदवार थिए । नेकपा नेतृत्वको सरकारको कार्यशैली र नेता गौतमको आफ्नै छविका कारण पनि मतदाता निराश छन् ।
काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसदमा निवाचित भएका थिए । पछिल्लो चुनावमा तत्कालीन एमालेका उम्मेदवार मानन्धरले १८ हजार १ सय २ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम थापाले १० हजार ७९ मत प्राप्त पाएका थिए ।
कम्युनिस्ट विपरित परिस्थती
पछिल्लो समयमा सरकारको घट्दो लोकप्रियताबीच काठमाडौं ७ मा भए पनि गौतमलाई चुनाव जित्न सजिलो छैन । काठमाडौं महानगरपालिकामा ततकलीन एमालेबाट मेयर पद जितेका विद्यासुन्दर शाक्यको अलोकप्रियता वर्तमान सरकारप्रति जनताको आलोचना लगायतका कारण पनि गौतमको जितको संभावना कमजोर रहेको बताइन्छ । यस्तै अलिहेको समग्र परिस्थिती कम्युनिस्टप्रति अनुुकुल नभएकोले गौतमको पक्षमा नतिजा जान नसक्ने टिप्पणी भइरहेको छ ।
यसअघिको चुनावमा उम्मेदवार नै नउठाएको कांग्रेसले केही साना दलहरुसँग गठबन्धन गरेर वा कुनै राष्ट्रिय अनुहारलाई उम्मेदवार बनाए बामदेव गौतम पनि हार्ने सम्भावना रहने नेकपाकै नेताहरु बताउछन् । बर्दियाबाट नेपाली कांग्रेससँग पराजित भएका नेकपा सचिवालय सदस्य गौतमलाई पहिले डोल्पाबाट चुनाव लडाउने तयारी गरिएको थियो । डोल्पाका सांसद धनबहादुर बुढाले आफू सिट छाड्न तयार रहेको तर स्थानीयसँग सल्लाह लिने भन्दै स्थानीय भेट्न पुगे ।
त्यसपछि गौतमलाई कहिले दैलेख, कहिले नवलपरासी त कहिले बाँकेबाट चुनाव लडाउने तयारी भयो । उनका लागि ठूलो रकम खर्चेर सांसद भएकाहरु त्याग गर्न तयार भएनन् । गौतम पार्टी एकता हुनुअघि नै प्रधानमन्त्रीका दावेदारका रुपमा हेरिएको थियो । एमाले र माओवादी केन्द्रबीचको मध्यस्थकर्ताका रुपमा गौतम रहेकाले उनलाई प्रधानमन्त्रीको मुख्य दावेदारका रुपमा हेरिएको थियो । दुई पार्टीका अध्यक्षहरुको विकल्प गौतम नै थिए । तर वामदेवको चुनावी हारपछि ओली निर्विकल्प प्रधानमन्त्री भए ।
प्रकाशित समय २०:३६ बजे
















