गृहपृष्ठ ‘शान्ति सुरक्षाको पहिलो जिम्मेवारी प्रदेशको’

‘शान्ति सुरक्षाको पहिलो जिम्मेवारी प्रदेशको’

संघीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो प्रदेशभित्र शान्ति सुरक्षाको प्रत्याभूति दिने पहिलो जिम्मेवारी प्रदेश सरकारको हुने बताएका छन् ।

रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा श्रेष्ठले तीन वर्षमा पनि केन्द्रीय सरकारले प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माण नगरेकाले केन्द्र र प्रदेश सरकारबीच द्वन्द्व बढेको बताए ।

उनले प्रदेशले बनाएको कानुन संविधानसँग बाझिएको भए खारेज हुने र बाझिएन भने कार्यान्वयन हुने स्पष्ट पारे । श्रेष्ठले प्रदेशको कानुन निर्माण गर्न निकै ढिला भएकाले प्रदेश सरकारले धमाधम कानुन निर्माण गर्नुपरेको दावी गरे ।

नेकपाका नेता सत्यनारायण मण्डलले प्रतिपक्षको हैसियतले संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकारलाई विश्वासको मत दिएर साथ दिँदै आएको जानकारी दिए । लामो समयदेखि अस्थिर र अशान्त रहेको मधेशलाई स्थायित्व दिन पनि आफूहरुले प्रदेश सरकारलाई सहयोग गरेको उनको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रदेशको पनि प्रदेश प्रहरी हुनुपर्नेमा जोड दिँदै प्रदेशभित्र शान्ति सुरक्षा दिने पहिलो दायित्व प्रदेश सरकारको हुने बताए ।

उनले संघीय सरकार संघीयता विरोधी मानसिकता भएको आरोप लगाउँदै तीन वर्षसम्म पनि नेपाल प्रहरी ऐन संशोधन नगरिएको र संघीय कानुन समयमै नबइएकाले यो द्वन्द्व सिर्जना भएको विचार व्यक्त गरे ।

अर्को प्रसंगमा लेखकले कांग्रेसको विधान मस्यौदा अन्तिम चरणमा पुगेको र केही दिनमा नै विधानलाई केन्द्रीय कार्यसमितिमा पेश गरिने जानकारी दिए । रासस ।

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु