गृहपृष्ठ कांग्रेसको चियापानको सन्देश- दलहरु एकजुट हुनुको विकल्प छैन
कांग्रेसको चियापानको सन्देश- दलहरु एकजुट हुनुको विकल्प छैन
प्रतिपक्षी दल नेपाली कांग्रेसले विजयादशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टी मुख्यालय सानेपामा शुक्रबार भएको चियापानमा कांग्रेसका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिति रह्यो । चियापानमा विभिन्न दलका शीर्ष नेताहरु, कूटनीतिक नियोगका पदाधिकारी पनि सहभागी भएका थिए ।
चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता विजयकुमार गच्छदारलगायतले स्वागत गरेका थिए । चियापानमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायतको उपस्थिति थियो ।
चियापानमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झालगायतका नेता पुगेका थिए । राप्रपा नेता पशुपतिशमशेर राणा एवं मन्त्रीहरु, नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र अरु कूटनीतिक नियोगका सदस्यको पनि उपस्थिति थियो ।
चियापानमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभपति देउवाले सबै दलबीच मेलमिलाप र एकता आवश्यक भएको बताए । उनले भने, ‘चियापान कार्यक्रममार्फत बिपीको मेलमिलाप नीतिलार्ई आजसम्म निरन्तरता दिएका हौं, त्यो सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक छ, दलहरु एकजुट भएर अघि बढ्नुको विकल्प छैन ।’
चियापानमा नेकपाका अध्यक्ष प्रचण्डले एकता र मेलमिलाप आजको आवश्यकता भएको बताए । चियापानले आपसी एकता र सद्भाव बढाउने उनको भनाइ छ । उनले भने, ‘चियापानको सुरुवात विगतमा बिपी कोइरालाले गरेका हुन् । यो त्यसैको निरन्तरता हो । यसले आपसी सदभाव र एकता बढाउन मद्दत गर्छ । एकता र मेलमिलाप आज पनि आवश्यक छ ।’
त्यस्तै, नेकपाका नेता झलनाथ खनालले चियापान जस्ता कार्यक्रमले नेताहरुबीच विशेष सम्बन्धन स्थापित हुने धारणा राखे । नेकपाकै अर्का नेता नारायणकाजी श्रेष्ठले पार्टीहरुले आयोजना गर्ने चियापानजस्ता कार्यक्रमले पार्टीहरु बीचमा सम्बन्ध सुधार्ने संस्कृतिको विकास गर्ने बताए ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार निकै अनुुकूल अवस्थामा रहेको भन्दै नेकपाले समयको सदुपयोग गर्न सक्नुपर्ने बताए । ‘सरकारले समयको सदुपयोग गर्नुपर्छ, जनमतको सदुपयोग गर्न सक्षम हुनुपर्छ, त्यसमा हामी पनि दबाब दिनेछौ,’ पौडेलले भने ।
प्रकाशित समय २०:४१ बजे

















