गृहपृष्ठ आउँदो निर्वाचनमा कांग्रेस पहिलो : महामन्त्री कोइराला

आउँदो निर्वाचनमा कांग्रेस पहिलो : महामन्त्री कोइराला

sashanka_koirala_newskarobar

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन चितवनले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उनले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा कांग्रेस ठूलो दल बन्ने दाबी गरे ।

उनले कांग्रेस महासमिति बैठक सर्ने पनि बताए । महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण मिति सर्ने बताए । महासमिति बैठक एक हप्तादेखि १० दिनसम्म पछि सर्न सक्ने उनको भनाइ छ । महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरुसँगको रायअनुसार अघि बढ्ने महामन्त्री कोइरालाले बताए ।

कांग्रेस अहिले पनि शक्तिशाली पार्टी रहेको बताउँदै उनले भने, ‘नेकपा एमाले र माओवादी मिल्दा पनि कांग्रेस एकबद्ध भएको खण्डमा कांग्रेसलाई जित्न सक्दैनन् ।’ कम्युनिष्ट पार्टी लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएको भन्दै उनले थपे, ‘अहिले आएको परिवर्तनका कारण उनीहरुमा परिवर्तन देखिएको हो तर उनीहरु लोकतन्त्रवादी होइनन् ।’

फरक प्रसंगमा बोल्दै उहाँले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटि हल बन्न नदिने बताए । अस्पतालको गुरु योजनाअनुसार प्रतिष्ठान बनाउनु पर्ने भन्दै उनले पहिले नै जग्गा अपुग भएका कारण गैंडाकोटमा आवास गृह बनाइएको स्मरण गराए । उनले भने, ‘यस विषयमा म पुष्पकमल दाहालज्यूसँग छलफल गर्छु । यहाँ बनाउन उपयुक्त हुँदैन ।’

(रासस) 

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु