गृहपृष्ठ विप्लव समूहको जनसभा आज, कम्ब्याट ड्रेस लगाए पक्राउ
विप्लव समूहको जनसभा आज, कम्ब्याट ड्रेस लगाए पक्राउ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूहले शनिबार राजधानीमा गर्न लागेको आमसभालाई लक्षित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । कानुनविपरीतका गतिविधि हुनसक्ने विश्लेषणसहित सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएका हुन् ।
घरेलु तथा अरु कुनै हातहतियार प्रयोग हुनसक्ने आशंकामा प्रहरीले उच्च निगरानी बढाएको छ । यसअघिका कार्यक्रममा सो समूहले कार्यक्रममा घरेलु हतियार प्रदर्शन र कम्ब्याट ड्रेस प्रदर्शन गर्ने गरेको थियो । यसपटक भने हातहतियार तथा कम्ब्याट ड्रेससहितको सहभागिता भएको पाइए प्रहरीले तत्काल नियन्त्रणमा लिने जनाइएको छ । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती पनि बढाएको छ ।
पार्टी गठनको पाँच वर्षको अवसरमा गर्न लागिएको कार्यक्रमलार्ई लक्षित गरी चन्द समूहले कार्यक्रम तयारी गरिरहँदा केही दिनदेखि नै प्रहरीले निगरानी बढाएको थियो । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार केही दिनयता उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँच र कडाइ गरिएको छ । तर, कानुनतः आमसभा भए कुनै अवरोध नहुने सुरक्षा स्रोतले जनाएको छ ।
पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर विप्लव समूहले जनसभा आयोजना गरेको हो । यसअघि, नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई सम्बोधन गर्ने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् । अन्तिम घडीमा विप्लव सहभागी हुने कार्यक्रम स्थगित गरिए पनि कारण खुलाइएको छैन ।
विप्लवको अनुपस्थितिमा हुन लागेको सभालाई पार्टी प्रवक्ता एवं स्थायी कमिटी सदस्य प्रकाण्डलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराँती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई सभामा निम्तो दिइएको छ । जनसभाअघि विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकाल्ने तयारी छ ।
प्रकाशित समय १२:२३ बजे

















