गृहपृष्ठ गृहमन्त्रीज्यू ! राजीनामा दिनुस् : डिला संग्रौला

गृहमन्त्रीज्यू ! राजीनामा दिनुस् : डिला संग्रौला

प्रधानमन्त्री नै तक्मा लगाएर विवादित एनजिओको बन्धक बन्ने ?

dila-sangraula-newskarobar

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता नलाग्नुमा गृहमन्त्रालय दोषी रहेको आरोप लगाएकी छन् । उनले साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरिन् ।

रिपोर्टर्स क्लब प्रदेश-५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा डा. संग्रौलाले भनिन्, ‘नेपालमा न्याय मर्यो, न्याय बिकी सक्यो, अपराधीहरु सिंहदरबारको सुरक्षाभित्रै  छन् ।’

मुलुकका हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताउँदै उनले असोज ११ इलामबाट सुरु भएको अभियान सबै प्रदेशमा सञ्चालन गरेको बताइन् ।

निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भब नभएको भन्दै उनले सरकार बादशाह, महेन्द्रपथ र निरंकुशतातर्फ गइरहेको समेत दावी गरिन् । सरकारले न्याय नदिँदा निर्मलाका बुबाको मानसिक सन्तुलन गुमेकोमा चिन्ता व्यक्त गर्दै उनले निर्मलाका बुबाले आफुसँग ‘कि फाँसी देउ की मलाइ न्याय देऊ’ भनेको सुनाइन् ।

‘दुर्इ तिहाइको सरकारले ९ महिनामा के के गर्यो ? जनताको बाँच्न पाउने अधिकार पनि कुण्ठित भएको र राज्यले भयावह स्थिती सिर्जना गरेको छ, किन राज्य यति कमजोर भयो ?’ उनले प्रश्न गरिन् । काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गर्दै नेपाल सरकार सहआयोजक बनेर क्रिस्चियन धर्मको प्रचार गरेकोमा उनको दुखेसो छ ।

‘प्रधानमन्त्रीले डलरको खेती गर्ने ठूलो तक्मा लगाउने अनि बिबादित एनजिओको बन्धक बन्न मिल्छ ?उनको प्रश्न छ । संविधानको धारा ९१ क मा फरक-फरक पार्टी र लिंगका सभामुख र उपसभामुख हुने भने पनि सरकारले संविधान लत्याइएको उनको भनाइ छ  । सरकारले प्रेस स्वतन्त्रता, न्यायपालिका पनि कब्जा गर्ने रणनीति असफल हुने उनको दावी छ । अहिलेको दुर्इ तिहार्इको सरकारलार्इ असफल हुने अधिकार नभएको भन्दै उनले सरकार संघीयताको कार्यान्वयनमा पनि चुक्दै गएको आरोप लगाइन् ।

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु