गृहपृष्ठ दीपक मनाङे भन्छन्– ‘जेलमा हुनेले शपथ लिने म बाहिरै छु, मेरो सपथ कहिले ?’

दीपक मनाङे भन्छन्– ‘जेलमा हुनेले शपथ लिने म बाहिरै छु, मेरो सपथ कहिले ?’

सपथबारेको निर्णय आइतबार

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले प्रतिनिधिसभा सदस्यको शपथ लिएसँगै गुन्डा नाइकेका रुपमा परिचित दीपक मनाङे (राजीव गुरुङ) को सपथका विषयमा बहस सुरु भएको छ ।

पुर्पक्षका लागि थुनामा रहेका चौधरीलाई विहीबार सपथ गराइएपछि विवादित प्रदेशसभा सदस्य मनाङेले पनि आफूलाई सपथ गराइनुपर्ने माग गरेका छन् । यस विषयमा गण्डकी प्रदेश सरकार, संसद्लगायत विभिन्न ठाउँमा बहस सुरु भएको छ । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निवाचित चौधरीलाई शपथपछि फेरि डिल्लीबजार कारागारमा राखिएको छ । उता, डिल्लीबजार कारागारमै रहेका मनाङगे रिहा भइसकेका छन् । रिहा भएलगत्तै उनले शपथका लागि सचिवालयमा पत्र बुझाएका थिए ।

ज्यान मार्ने उद्योगको मुद्दा पुनरावेदन हुने र हाल थुनाबाहिर रहेको भन्दै सपथ गराउनुपर्ने माग मनाङेले गरेको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । ‘प्रदेश सांसदका रूपमा शपथ लिन पाउनुपर्ने माग गर्दै निवेदन परेको छ, निवेदन आएको साता दिन भएको छ, तर सपथ गराउने वा नगराउने कुनै निर्णय भइसकेको छैन,’ अधिकारीले भने, ‘उनको शपथ हुने वा नहुने भन्ने आइतबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय लिने छ ।’

परामर्श समितिमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरु छन् । तत्कालीन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांंग्रेस, नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेताको सहभागिता छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु सपथ गराउनुपर्नेमा जोड दिँदै आएका छन् । मनाङेले स्वतन्त्र उम्मेदवारीबाट चुनाव जिते पनि उनी तत्कालिन नेकपा एमाले निकट हुन् ।

कुनै पनि हालतमा मनाङेको सपथ रोक्नुपर्ने पक्षमा विपक्षी कांग्रेस र नयाँशक्ति नेपाललगायतका दलहरू छन् । प्रदेशसभाको अधिवेशन सोमबार बस्दै छ । मनाङे भन्छन्, ‘जेलमा हुनेले शपथ लिने म बाहिरै छु, मेरो सपथ कहिले हुन्छ ?’ मनाङे प्रदेशसभाका लागि मनाङबाट प्रत्यक्ष निर्वाचित हुन् ।

प्रकाशित समय १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु