गृहपृष्ठ कांग्रेस नेताको नाममा बनेका अस्पताल विघटन नगर्न माग

कांग्रेस नेताको नाममा बनेका अस्पताल विघटन नगर्न माग

gp_foundation

नेपाली कांग्रेसका नेताका नाममा बनेका अस्पताल विघटन नगर्न जीपी फाउण्डेसनले सरकारसँग माग गरेको छ । पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा बन्दै गरेको श्वासप्रश्वास केन्द्र र सुशील कोइरालाका नाममा बनिरहेको क्यान्सर अस्पताल विघटन नगर्न फाउण्डेसनले सरकारसँग माग गरेको हो ।

निर्णय नसच्याए कठोर आन्दोलन गर्ने उसको चेतावनी छ ।

‘लोकतन्त्रका महानायक गिरिजाप्रसाद कोइरालाको नाममा बन्दै गरेको अस्पताल विघटन गर्न खोजेको भन्दै’ फाउण्डेसनले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारको तीव्र आलोचना गरेको छ । फाउण्डेसनका सातै प्रदेशका संयोजकहरुको हस्ताक्षरसहित निकालिएको विज्ञप्तिमा सरकारले दुई तिहाईको दम्भमा अधिनायकवादी व्यवहार देखाएको आरोप लगाइएको छ ।

तनहुँ र बाँकेमा बन्दै गरेका गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले दुर्गम र विकेन्द्रित रुपमा जनतालाई सेवा दिने भन्दै प्रतिष्ठानले निर्णयबाट पछि हट्न सरकारसँग माग गरेको छ । विज्ञप्तिमा प्रदेश १ की संयोजक इन्दिरा थापा, २ का डा. सुभासचन्द्र यादव, ३ की रीता खनाल, गण्डकीकि शारदा पौडेल, ५ नम्बर प्रदेशका डा. गोविन्द पोखरेल, ६ की रीता शाही र ७ नम्बर प्रदेशका संयोजक चतुर बहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य मन्त्रालयबाट संघीय सरकार अन्तर्गत रहने ११ वटा अस्पतालको नाम सिफारिस गरेकामा गत मन्त्रिपरिषद्को निर्णयले सो दुई वटा अस्पतालको नाम हटाएर ९ वटाको नाम अनुमोदन गरेको थियो । सरकारको यो निर्णयले चालू अवस्थामा रहेका दुई वटा अस्पताल विघटन हुन लागेको भन्दै काग्रेसका नेताहरु तथा उसका विभिन्न संघ संगठनले असहमति जनाउदै आएका छन् ।

यसअघि बरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना नेताका नाममा रहेका अस्पताललाई सरकारले विघटन गर्ने निर्णय नसच्याए कठोर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रकाशित समय १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु