गृहपृष्ठ प्रदेश ५ : कार्यसूचीमै नभएको एजेण्डामा कांग्रेसको विरोध

प्रदेश ५ : कार्यसूचीमै नभएको एजेण्डामा कांग्रेसको विरोध

सभामुखले छलकपट गरे : प्रतिपक्षी, पुष्टि गर्नुस् : सभामुख

कार्यसूचीमै नभएको एडेण्डालाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गरेको संसद अबरोधका कारण मंगलवार पनि प्रदेश ५ को संसद बैठक चल्न सकेन ।

सभामुख पूर्ण बहादुर घर्तीले वैठक सुरु भएको घोषणा गरेलगत्तै कांग्रेसका सांसदहरु आसनबाट उठेर आफूहरुको विरोध रहेको जनाउ दिए । सभामुखले विरोधको विषय पोडियमबाट राख्न अनुमति दिएपछि संसदीय दलका नेता बलदेव शर्माले प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन बनेको विशेष समितिले प्रतिवेदन बुझाउनुपर्ने समयमा प्रतिनिधित्व नभएका जिल्लाहरुबाट सदस्य संख्या थप्ने चलखेल भएको भन्दै आफुहरुले संसद अघि बढ्न नदिने बताए ।

लगत्तै सभामुख घर्तिले प्रतिपक्ष दलले उठाएको विषय बैठकको कार्यसूचीमा नरहेकाले विरोध जनाउन आवश्यक नभएको भन्दै आ-आफ्नो आसनमा बस्न आग्रह गरे । तर कांग्रेस सांसदहरुले सदन चल्न नदिने अडान लिएपछि सभामुख घर्तीले यो विषयमा सत्तापक्षको धारणा राख्न नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका सचेतक भूमिश्वर ढकाललाई अनुमति दिएर बैठक अगाडि बढाउन खोजे ।

कांग्रेस सांसदहरुले आफूहरुको विरोधका वावजुद वैठक अगाडि नबढाउन सभामुख घर्तिलाई दबाब दिए पनि सभामुखको अनुमती पाएपछि नेकपाका सचेतक ढकालले कांग्रेस सांसदहरुको होहल्ला र विरोधका वावजुद आफ्नो धारणा राखे ।

विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्ला बर्दिया, रुकुम र परासीबाट एक-एक जना सदस्य थप्दा समितिलाई काम गर्न सजिलो हुने धारणा आएकाले सभामुख समक्ष यो प्रस्ताव राखिएको धारणा ढकालको थियो ।

होहल्लाकाबीच ढकालले बोलेपछि सभामुख घर्तिले सत्तापक्षले प्रस्ताव राखेपनि उक्त विषय बैठकको कार्यसूचीमा नरहेकाले नियमित बैठक सञ्चालनमा अबरोध नगर्न र उक्त विषयमा बाहिर सहमति गरेर निश्कर्ष निकाल्न आह्वान गर्दै बैठक अगाडि बढाउने प्रयत्न गरे ।

सभामुखले जबर्जस्ती गर्न थालेपछि कांग्रेस सांसदहरु रोष्ट्रम घेराउका लागी रोष्टम अगाडि उभिए । सभामुखले बारम्बार आग्रह गरे पनि कांग्रेस सांसदहरुले मानेनन् । अन्ततः माघ २४ गते सम्मका लागि बैठक स्थगित भयो ।

मंगलबारको बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय अपरिपक्क रहेको धेरैको टिप्पणी थियो । अघिल्लो वैठकमा पनि प्रदेशको सरोकार बाहिरको मुद्धा उठाएर संसद अवरोध गरेको भन्दै कांग्रेसको आलोचना भएको थियो । मंगलबार पनि विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्लाबाट सदस्यहरु थप्नुपर्ने विषय नेकपा एक्लैले निर्णय गर्न सक्ने अवस्था थिएन ।

कांग्रेसले आफ्नो तर्फबाट पठाउनुपर्ने नाम नदिएको भए विशेष समितिमा सदस्य संख्या स्वतः थपिने थिएन । यो विषयमा संसद नै अवरुद्ध गर्नुपर्ने जरुरी नरहेको धारणा सत्तापक्षको थियो । अर्कोतिर सदस्य संख्या थप्ने विषय मंगलबारको वैठकको एजेण्डा नै थिएन ।

एजेण्डामै नभएको विषय बाहिर हल्ला सुनेको भरमा उठाएर बैठक अवरुद्ध नगर्न सभामुखले पटक-पटक आग्रह गरेका थिए । तर, कांग्रेस सांसदहरुले मानेनन् । एजेण्डामा नभएको विषय र कांग्रेससँग छलफल नगरी अगाडि बढाउन नमिल्ने विषयलाई अनुमानका भरमा उठाएर संसद वैठकको नियमित कार्यसूचीमा प्रवेश गर्न नदिनुलाई प्रतिपक्ष दलका नेताहरुले कांग्रेसको अपरिपक्क निर्णय भएको प्रतिक्रिया दिएका छन् ।

 

सभामुख प्रतिपक्ष भनाभन

वैठकको कार्यसूचीमा नभएको एजेण्डामा विवाद नगर्न सभामुखले आग्रह गरेपछि कांग्रेस सांसद र सभामुखबीच पटक पटक भनाभन भयो । संसदीय दलका नेता बलदेव शर्माले एजेण्डामा नभएको विषय भनेर सभामुखले छलकपट गर्न खोजेको आरोप लगाए ।

लगत्तै सभामुख घर्तिले छलकपट गरेको विषय पुष्टि गर्न चुनौती दिए । उनले यस्तो अपरिपक्क निर्णय नगर्नुस् भनेपछि कांग्रेस सांसद अष्टभुजा पाठकले सभामुखले राजनीति गर्न खोजेको आरोप लगाए । लगत्तै सभामुखले भने- राजनीतिक गरेरै आएको हो, तर अहिले सभामुखको राजनीति गर्दैछु महोदय ।

कांग्रेसको अवरोधकाबीच संसद वैठक चलिरहँदा सांसदहरुबीच राजधानीको एजेण्डामा विभाजन प्रष्ट देखिन्थ्यो । मंगलबार कांग्रेसले उठाएको एजेण्डा प्रष्ट छ, प्रदेशको राजधानी बुटवलबाट अन्यत्र सार्न पाइदैन । विशेष समितिमा वर्दिया र रुकुमका सदस्य थप्न नदिनु भनेकै राजधानी सार्ने षडयन्त्र हुन नदिनु हो ।

यो मुद्धामा कांग्रेसले सदन अवरोध गरिरहँदा लुम्बिनी अञ्चल बाहिरका कांग्रेस सांसदहरु सदनमा उपस्थित थिएनन् । लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने १० जना कांग्रेस सदस्यहरुमात्र वैठकमा उपस्थित भएर सदन अवरोधमा सहभागिता जनाएका थिए । स्रोतका अनुसार संसदीय दलका नेताले यो विषयमा मंगलबारको सदन अवरोध गर्ने रुलिंङ गरेपछि लुम्विनी अञ्चल वाहिरका सांसदहरु वैठकमै उपस्थित भएनन् ।

कांग्रेसको अवरोध जारि रहँदा नेकपाका कतिपय सांसदहरु पनि कांग्रेसको संसद अवरोधबाट खुसी नै देखिन्थे । सभामुखको अनुमति पाएका नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्लाबाट सदस्यहरु थप्दा राम्रो हुने धारणा राखिरहँदा नेकपाका केही सांसदहरुले समर्थनमा तालि बजाए ।

त्यसरी तालि बजाउने सांसदहरु साविक राप्ति र भेरीका धेरै थिए । तर साविक लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भने ताली बजाएनन् । यसले प्रष्ट पार्छ कि पार्टीको निर्णयमा मौन बसे पनि बुटवल राजधानी सार्न नहुने चाहना राख्ने साविक लुम्विनी अञ्चलबाट प्रतिनिधित्व गर्ने सांसदहरु विशेष समितिमा सदस्य थप्ने निर्णयमा खुसी छैनन् ।

प्रकाशित समय १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु