गृहपृष्ठ भेनेजुएलाका विषयमा दिएको अभिव्यक्तिप्रति अडिग छु : प्रचण्ड
भेनेजुएलाका विषयमा दिएको अभिव्यक्तिप्रति अडिग छु : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको स्पष्ट पारेका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारे ।
पूर्वप्रधानमन्त्री प्रचण्डले ‘एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको’ उल्लेख गरे । उनले भने, ‘परराष्ट्र मन्त्रालयबाट जुन स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।’ मंगलबार प्रधानमन्त्रीसमेतको उपस्थितिमा सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने उनले बताए ।
पत्रकारको अर्को एक प्रश्नमा दाहालले सकेसम्म यही महिनाभित्र नभए फागुनको पहिलो साताभित्र पार्टीको तल्लो तहसम्म एकता भइसक्ने जानकारी दिए । पार्टीको तल्लो तहको संगठनात्मक संरचना तयार गर्न गठित कार्यदलले बुधबार रिपोर्ट दिएपछि तल्ला तहका एकताले तीव्रता पाउने अध्यक्ष प्रचण्डले बताए । फागुन र चैत महिनामा पार्टीले गरेका कामसमेतलाई जानकारी गराउँदै गाउँगाउँमा अभियान गरिने उनले बताए ।
प्रकाशित समय १७:३१ बजे

















